वाणिज्य बैंकका सीमित शाखा सञ्चालनमा आउने भएका छन्। बैंकहरूले निश्चित समयमा सीमित शाखा खोलेर सेवा दिन सक्ने राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए।
‘बैंक सञ्चालन र आवतजावतका लागि सम्वद्ध जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायबाट स्वीकृति लिनुपर्नेछ, भीड नहुनेगरी केही शाखा खोलेर सेवा दिन सक्नेछन्,’ उनले भने। एउटा ठाउँमा एउटा बैंकले सेवा दिनेगरी बैंकहरूले नै व्यवस्थापन गर्न सक्ने उनले बताए।
सञ्चालनमा रहेका एटिएम सेवालाई प्रभावकारी बनाउन भनिएको उनले बताए।
‘सबै एटिएममा भरपूर रकम राख्न निर्देशन दिइएको छ’ उनले भने। यस्तो अवस्थामा सर्वसाधारणलाई आवश्यक रकम एटिएमबाटै झिक्न उनले आग्रह गरे।
बैंकहरूले पनि सीमित शाखाहरू निश्चित अवधिका लागि मात्रै व्यवस्थित रूपमा संचालन गर्न सकिने बताएका छन्। यद्यपी आज भने बैंकका शाखा बन्द छन्।
‘अहिले हाम्रा स्टाफ पनि सम्बद्ध शाखामा पुग्न पाएको अवस्था छैन, जिल्ला प्रशासन कार्यालयबाट कर्मचारीलाई यात्राको अनुमति लिएर बैंकका सीमित शाखा, केही समयका लागि मात्रै संचालन गर्ने गृहकार्य गरिरहेका छौं’ नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।
कुन बैंकका कुन कुन शाखा खोल्ने भन्ने सम्वन्धमा अहिले निर्णय भइसकेको छैन। एउटा जिल्लामा एउटा शाखा खोल्ने व्यवस्था गर्न खोजिएको उनले बताए। ‘तर सबैभन्दा पहिले कर्मचारीलाई यात्राका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने क्रममा छौंँ’ उनले भने।
जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था गरिएकाले सर्वसाधारणले एटिएम सेवा सहज रूपमा प्रयोग गर्न सक्ने उनले बताए। सबै एटिएममा रकम भरपूर राख्ने व्यवस्था हुने उनले बताए।
। ११ चैत्र २०७६, मंगलवार