कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’
मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे । उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’
खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत गठन भएको उनले जनाए । मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने पनि सुनाए । उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले भने,‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ। तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिईरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए । उनले भने,‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ । हामीले अहिले जनचेतना बढाउनुपर्छ ।’

उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिनेपनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त स्टक रहेको पनि सुनाए । उनले भने,‘हामीसँग पर्याप्त मात्रामा स्टक छ । साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस् । नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ । हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं । ३–४ ठाउँबाट ग्याँस पाउँछ ।’उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए ।

उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं ।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘उपभोक्ता ऐन आईसकेको छ । अब सबै नागरिकले कडाईका साथ अनुगमन गर्नुपर्छ ।’कालोबजारी र अभाव गर्न खोज्नेहरुलाई तीन लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने,‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । त्यस्तो गरेको पाए सुचना दिनुहोस् । हामी कारबाही गर्छौं ।’ उनले सरकारले क्षमताभन्दा बढि नै आपूर्ति व्यवस्था गरेको सुनाए । उनले भने,‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गरे । उनले भने,‘११३७ मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ उनले यो बीचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको पनि स्पष्ट पारे ।
उनले सरकारले गलत गर्ने कसैलाई नबचाउने स्पष्ट पारे । उनले भारतबाट ठूलो संख्यामा आवातजावत भएको प्रसँगमा यसबारेमा भारतसँग कुटनीतिक पहल गर्ने विश्वास दिलाए । उनले भने,‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौं । देशलाई संकटबाट बचाउँ । यसबारेमा भएको कमजोरीको समिक्षा गर्नुपर्छ । हामी समिक्षा गर्छौं । भारतसँगको सीमा अझै व्यवस्थित् गर्छौं । त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ ।’
उनले मास्क अहिले बाहिरबाट पनि आईरहेको र नेपालमा उत्पादन क्षमतापनि बढाएको सुनाए । उनले भने,‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढि छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अ हिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’
उनले अहिलेको लडाई सबैले एकजुट भएर लड्नुपर्ने बताए । उनले भने,‘सरकारले एकपछि अर्को तयारी गरेको छ । विभिन्न मुलुकले कसरी काम गरिरहेका छन् भन्ने कुरापनि हामीले हेरेका छौं । विशेषगरि चीनमा कोरोनाविरुद्ध कसरी लडियो भन्ने कुरापनि हामीले हेरेका छौं । भारतपनि कसरी लडिरहेको छ भन्नेपनि हेरिरहेका छौं । युरोप किन लड्न सकेन ? यी सबै कुरा हेरेर हामीले एकपछि अर्को तयारी र कदम चालेका छौं ।’

तपाईको प्रतिक्रिया