कोरोनाको त्रास : शहरका नागरिक गाउँतिर

सुर्खेत : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीलाई मध्य नजर गर्दै सरकारले लामा दूरीका यातायात नचलाउने भन्ने सूचना जारी सँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट गाउँ तथा अन्य जिल्लातर्फ जानेको संख्यामा ह्वात्तै बृद्धि भएको छ।

शहर तथा जिल्ला सदरमुकाममा विभिन्न कामका लागि रहदै आएका नागरिक गाउँतिर जानेक्रम बढेको छ। गाउँका लागि छुटेका यात्रुबहाक सवारी साधनमा यात्रुको चाप बढेको छ। साथै यातायातका साधनले यात्रुको चाप धान्न धौ धौ परेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट विशेष गरेर दैलेख, कालिकोट, जुम्ला तथा मुगुका का साथै सल्यान र पश्चिम रुकुम र जाजरकोट लागि यात्रुको अत्याधिक चाप बढेको छ।

राजधानी वीरेन्द्रनगरबाट जिल्लाको पश्चिम तर्फका बड्डीचौर, बाबियाचौर, गुटु बेतान, लगामतर्फ जाने यात्रुको पनि अहिले बसपार्कमा घुँइचो लागेको छ। त्यस्तै प्रदेशको विभिन्न जिल्लाहरू दैलेख, कालिकोट, जुम्ला र मुगु जानकालागि पनि सुर्खेत बसपार्कमा यात्रुको घुँइचो रहेको छ। शनिबार बसपार्कमा अरु भन्दा विशेष गरेर पहाडी इलाकातर्फ घर जानेहरूको घुँइचो रहेको स्थानीय रमेश पौडेलले बताए। दैलेखको जितेगढाका लागि शनिबार मात्र थप ५ बससहित १३ वटा बस छुटेको मध्यपश्चिम यातायातका जनक वलीले जानकारी दिए।

‘सँधै ८ वटा बस जाने गर्थ्यो। तर यो कोरोना भाइरसको त्रास कारण तथा गाडी बन्द हुने सूचनाले थप ५ वटा बस हामीले यात्रुको सेवाको लागि पठाएका हौं’ उनले भने ।त्यस्तै काठमाडौंबाट यात्रु सुर्खेततर्फ ल्याउनका लागि आज सुर्खेतबाट थप ५ बससहित ७ बस काठमाडौंतर्फ प्रस्थान गरेको मध्यपश्चिम यातायातका विजय सुवेदीले जानकारी दिए।

‘सुर्खेतबाट काठमाडौं तर्फ जाने यात्रुको भने अभाव भए पनि घर तर्फ फर्किने यात्रुको सहजताका लागि भनेर थप बस काठमाडौं पठाएका हौं। ती बस काठमाडौंमा अग्रिम बुकिङ भइसकेका छन्’ सुवेदीले भने। त्यस्तै देउती नागरिक यातायातका फिरोज खड्काका अनुसार शनिवार मात्र कर्णालीको पहाडी इलाकाकालागि थप ४ वटा बस गएका छन्।

त्यस्तै हिल्सा पब्लिक यातायातले पनि काठमाडौंतर्फ ६ वटा बस पठाएको छ भने सुर्खेत काँक्रेविहारले जुम्ला रुटमा ९ वटा काँक्रेविहार यातायात पनि थप ८ वटा बस पहाडी रुटमा पठाएको जनाएको छ। सरकारले अत्यावश्यक कामका लागि घरबाहिर नजान आग्रह गरे सँगै शहर तथा सदरमुकामका नागरिक गाउँतिर गइरहेका छन्।

तपाईको प्रतिक्रिया