
दैलेख – बाहिरी मुलुकहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिक १९’ को संक्रमणको सतर्कताको लागि नौमूले गाउँपालिकाले नारायण नगरपालिका र नौमूले गाउँपालिकाको सिमा तथा प्रवेशद्धारमा हेल्थडेस्क स्थापना गरेको छ ।
नौमूले गाउँपालिका वासीमा कोरोनाको संक्रमण नाओस भन्दै सचेतनाका लागि शुक्रवार तामेमा हेल्थडेस्क स्थापना गरेको हो । हेल्थडेस्क स्थापना गरी गाउँपालिकाले नौमूले वासी नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न कोरोना सक्रमणबाट बच्न अनुरोध समेत गरेको छ । कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने वारेमा गाउँ गाउँमा सचेतना अभियाननै सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
नौमूले गाउँपालिकामा नोभल कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सचेतनाका लागि गाउँपालिका स्तरिय समन्वय समिति समेत गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष भदे बुढाको संयोजकमा २१ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष गाउँ कार्यपालिका सदस्य सम्पूर्ण वडाअध्यक्ष प्रमुख प्रशासकिय अधिकृत, इप्रका प्रतिनिधि लगाएतको उक्त समन्वय समितिले विभिन्न स्थानहरुमा सचेतना तथा कोरोना भाइरसबाट बच्नका लागि जानकारी गराउने लगाएतका क्रियाकलाप गरिने गाउपालिकाका अध्यक्ष भदे बुढाले वताए । साथै कोरोना भाइरसबाट बच्नका लागि गाउँपालिकाले सवै सरकारी कार्यालयमा टुटी सहितको वाल्टी र सावु व्यवस्था गर्ने अध्यक्ष बुढाले वताए ।
समन्वय समितिको सक्रियतामा सवै वडाहरुमा कोरोना भाइरसबाट बच्ने उपायवारे व्यापक प्रचार प्रशार गर्ने, विशेष कामकाज वाहेकका कार्यहरुमा वाहिर नजान नौमूले गाउँपालिका वासीमा आग्रह गर्ने निर्णय गारिएको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोइरालाले वताए ।
















































। ८ चैत्र २०७६, शनिबार