
जुम्ला — तातोपानी गाउँपालिकाले आफैं अस्पताल सञ्चालन गर्ने गरी छैठौं गाउँसभाबाट स्वास्थ्य तथा सरसफाई ऐन पारित गरेको छ । ऐनमा निजी अस्पताल सञ्चालनको लागि अनुमति दिनेलगायत प्रावधान राखिएका छन् ।
गाउँपालिका क्षेत्रभित्र निजी क्षेत्र, ट्रष्ट वा लोककल्याणकारी संस्थाले अस्पताल सञ्चालन गर्न चाहेमा १५ शय्यासम्मको सञ्चालन अनुमति दिइनेछ । अस्पताल सञ्चालन जनशक्तिको हकमा कम्तिमा दुईजना एमबीबीएस डाक्टर, चार स्टाफ नर्स, एक जना ल्याव टेक्निसियन, चार स्वास्थ्य सहायकलगायतको व्यवस्था गरिएको छ ।
कर्मचारीको मापदण्डसमेत तोकेर ऐन कार्यान्वयनमा लगिएको हो । ‘अस्पतालमा दर्ता चलानी, बहिरंग सेवा, इमर्जेन्सी कक्ष, प्रयोगशाला, भर्ना भएका विरामी राख्ने क्याविन, प्रशासन कक्ष, पार्किङ, पर्याप्त जमिनसहित भौतिक संरचना हुनुपर्ने छ,’ ऐनमा उल्लेख छ ।
गाउँसभाबाट पारित गरिएको कानुनअन्सुार पोलिक्लिनिक प्रयोगशाला, ल्याबोरेटोरी वा फार्मेसी सञ्चालनपूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन र जनचेतना जगाउन पुरुष स्वास्थ्य अभियानकर्ता र महिला स्वास्थ्य स्वयम्सेविका नियूक्त गर्ने तयारी गरेको गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् ।
उनका अनुसार स्वयम्सेविका र अभियानकर्ताका लागि २१–४० वर्ष उमेर समूहको, ८ कक्षा उत्तीर्ण र सम्वन्धित वडाका विवाहित नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ । उनका अनुसार प्रत्येक वडामा १ सय ५० जनसंख्याको लागि एक महिला स्वयम्सेविका र पाँच सयजना जनसंख्याका लागि एक जना पुरुष स्वास्थ्य अभियानकर्ता नियुक्त गर्न लागिएको हो ।
‘घर निर्माण गर्नुपूर्व शौचालय, फोहोर व्यवस्थापन गर्ने विधि र घरेलु फोहोर विर्सजन गर्ने स्थानबारे पहिले नै जानकारी गराउनुपर्ने नियम ल्याएका छौं,’ उनले भनिन्, ‘प्रत्येक स्वास्थ्य संस्थाले तोकेको मापदण्ड बमोजिम जोखिमरहित र जोखिमयुक्त फोहोर छुट्याएर व्यवस्थापन गर्ने मापदण्ड पनि तोकिएको छ ।’ उनले प्लाष्टिकजन्य झोला तथा बस्तुलाई निरुत्साहित गर्न पनि ऐन ल्याइएको बताइन् ।
नेपालको संविधानले दिएको अधिकार र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न ऐन तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्नु स्थानीय सरकारको कर्तव्य हो,’ उनले भने, ‘स्वास्थ्य र सरसफाई व्यवस्थापनलाई सहज बनाउन ऐन कार्यान्वनमा लगिएको छ ।’ गाउँपालिकाका अनुसार रोगको प्रकोप र सेवाको प्रकृतिका आधारमा विशेषज्ञ स्वास्थ्य सेवा र घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
















































। ७ चैत्र २०७६, शुक्रबार