
काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा तीनजना पक्राउ परेका छन् । कैलाली स्थायी घर भएका लक्ष्मण सेट्टी, अमृत कुमाल क्षत्री र कालिकोटका टेक लोहार (भीषेक गिरी) पक्राउ परेका हुन् ।
राजधानीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।
एसएसपी थापाका अनुसार पक्राउ परेका कुमाल विप्लव समूहका मध्य कमाण्ड ब्यूरो सदस्य हुन् । सेट्टी र विक विप्लवको साधारण कार्यकर्ता मात्र रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
घटनामा विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामाका अंगरक्षक कान्छाराम घिसिङको नाममा रहेको मोटरसाइकल प्रयोग गरिएको एसएसपी थापाले बताए । उनले भने, ‘प्रदेश ३–०२–००१ प २८३६ नम्बरको युनिकन होण्ड मोटरसाइकल प्रयोग भएको छ ।’
घटनाको मुख्य योजनाकार अमृत बहादुर कुमाल रहेको प्रहरी अनुसन्धानबाट खुलेको एसएसपी थापाको भनाइ छ । कुमालले घटनाको अघिल्लो दिन मोटरसाइकल रानीबारीमा ल्याइ सेट्टीलाई दिएका थिए । पक्राउ परेका तीनै जनाले घटनाबारे स्वीकारेका छन् ।
गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।
















































। ७ चैत्र २०७६, शुक्रबार