लुकेन कोरोनाको भयावह स्थितिः १५८ देशमा पुग्यो, ७१३९ को मृत्यु

१ लाख ८१ हजार ५ सय ८७ संक्रमित, ७८ हजार ९ सय ५७ निको भए

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस भयावह स्थितिमै पुगेको छ । कोरोना भाइरस १ सय ५८ देशमा फैलिएको छ ।

मंगलबार बिहानसम्म ७ हजार १ सय ३९ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोनाले सबैभन्दा बढी चीनमै ३ हजार २ सय भन्दा बढीको ज्यान गएको छ ।

चीनमा ८१ हजार ४५ जना संक्रमित भएका छन् । तर निको भइ घर फर्कनेको दर बढिरहँदा चीनमा कोरोना नियन्त्रणतिर लागेको छ । सोमबार चीनमा १३ प्रान्तमा कुनै पनि नयाँ संक्रमित नभएको जनाइएको छ ।

इटालीमा मृतकको संख्या सबैभन्दा बढी हुने आशंका बढेको छ । अहिलेसम्म २१ सय ५८ जनाको मृत्यु भइसकेको छ । २७ हजार ९ सय ८० जना संक्रमित रहेका छन् ।

त्यस्तै तेस्रो स्थानमा इरान रहेको छ । जहाँ ८५३ जनाको ज्यान गएको छ । १४ जार ९ सय ९१ जना संक्रमित छन् ।

स्पेनमा ३४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित छन् ।

फ्रान्समा १४८ जनाको ज्यान गएको छ भने ६ हजार ६ सय ५० जना संक्रमित छन् । दक्षिण कोरियामा ७५, अमेरिकामा ६९, बेलायतमा ५५, तथा जापानमा २७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट संक्रमितहरु पूर्ण रुपमा निको भएर फर्कनेको संख्या पनि बढी नै रहेको छ । तर युरोपतिर भने यो बढी नै आक्रामक भएको छ ।

भारतमा २ जनाको ज्यान गएको छ भने ११९ जना संक्रमित भएका छन् । खुल्ला सीमा नाकाका कारण चीन र भारतबाट नेपाल छिर्ने संक्रमितहरु हुन सक्ने आशंका कायमै छ ।

नेपालमा एक जनामात्र संक्रमित भनिए पनि चेतावनी भने बढेको छ ।

तपाईको प्रतिक्रिया