काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वत्वको कोभिड १९ नियन्त्रणका लागि गठित द्रूत सम्भ्यता अध्ययन कार्यदलले भौतिक पूर्वाधारका लागि ७३ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ ।
कोरोना भाइरसको उपचार गर्न सेन्टर तोकिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४० शय्याको आइसोलेसन वार्ड बनाउन २३ करोड ५० लाख प्रस्ताव गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २०-२० सिटको आइसोलेसन वार्ड बनाउन १२ करोड ५० लाख दरले जम्मा ७३ करोड ५०लाख बजेट प्रस्ताव गरिएको हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको फैलिँदो संक्रमणलाई विश्वव्यापी महामारी संज्ञा दिइसकेको छ। बुधबार जेनेभास्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डा. टेड्रोस अदानोम घेब्रियससले अपेक्षाविपरीत भाइरसको संक्रमण फैलँदै जाँदा महामारी घोषणा गर्नुपरेको बताएका छन्।
तीब्रगतिमा कोरोनाको संक्रमण फैलिइरहेका बेला नेपाल सरकार पनि त्यसलाई अधिकतम् थेग्न सकिने योजनामा जुटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिए उपचार गर्न तयारी अवस्थामा बस्न र त्यसका लागि आइसोलेशन वार्ड बनाउन केही रकम छुट्याउने छलफल गरेको छ। मन्त्रालयले तत्कालै अर्थ मन्त्रालयसँग उक्त बजेट मागेर अस्पतालहरुलाई उपलब्ध गराउने जानकारी दिएको छ।
















































। ३ चैत्र २०७६, सोमबार