पाँच घन्टाको कारोबारमा लगानीकर्ता असन्तुष्ट, ६४.१४ अंक घट्यो नेप्से

nayapatrikadaily

साताको पहिलो दिन नेप्से ६४ दशमलव १४ अंक घटेर १३ सय १३ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको छ । नेप्सेले आइतबारदेखि पहिलोपटक धितोपत्र कारोबारको अवधि ५ घन्टा पुर्‍याएको थियो । बिहान ११ बजेदेखि ४ बजेसम्मको कारोबारमा नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार अवधिमा १ सय ७४ कम्पनीको २ अर्ब १० करोड १४ लाखबराबरको सेयर किनबेच भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई आइतबारदेखि धितोपत्रको कारोबार अवधि ५ घन्टा गर्न निर्देशन दिएसँगै समय अवधि बढेको हो । तर, बजार घटेको समयमा कारोबार अवधि लम्ब्याएकोमा लगानीकर्ता भने असन्तुष्ट छन् । अहिलेको अवस्थामा पुरानै कारोबार अवधि ठीक भएको लगानीकर्ता दिलीप मुनाकर्मीले बताए ।

कमिसनको लोभमा नेप्से, धितोपत्र बोर्ड, ब्रोकरलगायत संस्थाले कारोबार अवधि लम्ब्याएको उनको आरोप छ । ‘अहिले कारोबार समय वा प्रणालीका व्यावहारिक पक्ष, कति समय चाहिन्छ र यसबाट कसलाई कति फाइदा हुन्छ, सरोकारवालाको भनाइ के छ भन्ने कुनै अध्ययन र छलफलविना समय थप भएको छ,’ उनले भने, ‘कारोबारको रकम र कमिसनको लोभमा कारोबार समय थप्न चाहेको हो भने त्यो बजार सञ्चालक, नियामक र ब्रोकरलाई कार्यालय सञ्चालनको आर्थिक भारबाहेक केही हुन्न ।’

बजारको अहिलेको समस्या अनलाइन प्रणाली, भारित औसत करको गणना, डाटा भण्डारण र सुरक्षा, यथार्थ सूचनाको प्रवाहलगायत समस्याको समाधान नगरी कमिसनका लागि थप समय घातक हुने उनको बुझाइ छ । सेयर बजारलाई तरकारीजस्तो अल्पकालीन बजारभन्दा सुन वा घरजग्गाजस्तो दीर्घकालीन बजार बनाइनु उत्तम हुने उनको भनाइ छ । उनले भने, ‘पुँजीगत लाभभन्दा कम्पनीको लाभांश महत्वपूर्ण भन्ने सिकाइनुपर्छ ।’

तपाईको प्रतिक्रिया