सल्यानमा असिनापानीले लाखौँको तरकारीमा क्षति

सल्यान : शनिबार राति आएको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी नष्ट भएको छ। कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको हो।

कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ। आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिनापानीले पूर्णरूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताए। तीन रोपनी जमिनमा लगाएको लसुन सखाप भएको उनले बताए।

यस्तै, कपुरकोट ३ पाखापानीका किसान भीमबहादुर बढाले आफ्नो १ लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताए। ‘हाम्रो मुख्य पेशा भनेकै यहि तरकारी खेती थियो’ उनले भने ‘६ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबै खत्तम भयो।’

तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलार्य असिनापानीले ठुलो क्षति पुर्‍याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट ५ का किसान टोपेन्दै केसीले बताए। गतवर्ष पनि क्षति व्यहोरेका किसानले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानले गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया