कर्णाली प्रदेशका जनताले प्राकृतिक विपदमा दुई लाख पाउने

सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णालीका सम्पूर्ण जनताको प्राकृतिक विपदको जोखिम दुर्घटना बिमा लागु गरेको छ। कर्णालीका १७ लाख ७० हजार जनता र कर्णालीमा कार्यरत कर्मचारीको प्राकृतिक विपद जोखिम दुर्घटना बिमा लागु गरेको हो। चैत १ देखि लागू हुनेगरी कर्णाली प्रदेश सरकारले समाजवादी कार्यक्रमको शुरुवात भन्दै बिमा कार्यक्रम लागू गरेको हो।

सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सहकार्यमा बिमा कार्यक्रम लागु भएको हो। जम्मा एक करोड ५० लाख नौ हजार ६०० रुपैयाँ खर्चेर प्राकृतिक विपद जोखिम सामुहिक दुर्घटना बिमा कार्यक्रम चैत २ देखि लागु हुने गरी योजना अघि सारिएको छ।

बिमाका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रतिव्यक्ति आठ रुपैयाँ ४८ पैसा प्रतिवर्ष लगानी गर्ने र त्यसबाट प्राकृतिक विपदमा परी ज्यान गुमाएका कर्णालीका नागरिकले प्रतिव्यक्ति दुई लाख रुपैयाँ पाउने छन्। मन्त्रालयले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग यसअघि गरिएको सम्झौता कार्यन्वयनमा ल्याएको हो।

कर्णालीका जनताको बिमा गर्ने र प्राकृतिक विपदमा परी कुनै नागरिक र ६ माहिनादेखि कर्णालीमा कार्यरत कर्मचारीको मृत्यु भएमा राहत स्वरुप बिमाले एक लाख रुपैयाँ उपलब्ध गराउने गरी असोज १ मा नै कम्पनीसँग सम्झौता भए पनि राहत रकम बढाउन र कर्मचारीलाई समेट्नका लागि नयाँ यो सम्झौता गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।

हामीले पहिले गरेको सम्झौताअनुसार कर्णालीका १७ लाख ७० हजार जनताको दुर्घटनाको बिमाका लागि प्रतिव्यक्ति सात रुपैयाँका दरले एक करोड २३ लाख ९० हजार तिर्नुपर्ने थियो,’ मन्त्री भण्डारीले भने, ‘त्यसमा २६ लाख १९ हजार ६०० रुपंयाँ थप गरेर बिमित व्यक्तिले दुई लाख रुपैयाँ पाउने व्यवस्था गरेका छौं।

मन्त्री भण्डारीले यो बिमाको रकमले पीडामा परेका हरेक नागरिकलाई ठूलो राहत हुने सरकारको अपेक्षा रहेको बताए। साथै, उनले यो कार्यक्रम समाजवादी अभ्यासको रुपमा लागु गरिएको समेत बताए। बिमा कसले पाउछ ? राष्ट्रिय बिमा कम्पनीका कार्यकारी अधिकृत डिल्लीराज अर्यालले बिमा कार्यक्रमअन्तर्गत प्राकृतिक प्रकोप भन्नाले भूकम्प, बाढी र जलमग्न, पहिरो र जमिन धसिने वा भाँसिने, हावाहुरी तथा आँधीबेहरी, चट्याङ, आगलागी, हिउँ र असिना बुझ्नु पर्ने बताए।

यसका साथै सामूहिक आगलागी र डढेलोका कारण हुने हानी नोक्सानी पाएकालाई क्षतिपूर्ति दिइने उनको भनाइ छ। तर, बिमा बिमकले जानीजानी आफैंले लगाएको चोटको कारणबाट, आत्महत्या वा यसको प्रयास, मादक पदार्थ वा लागूऔषधको प्रभावका कारण, गैरकानुनी तरिकाले उडेको उडानबाट, खतरनाक खेलहरू जस्तैः

घोडादौड, बन्जी जम्पिङ्ग, प्याराग्लाइडिङ, मोटरसाइकल रेस, पागलपन, बीमितले कुनै प्रचलित कानून भंग गरेको कारणबाट, पूर्व निर्धारित युद्ध, हुलदंगा, अतिक्रमण, क्रान्ति भएको कारणबाट भएको क्षति, आणविक विकिरणबाट भएको क्षति, विपदजन्य घटनाबाहेक अन्य दुर्घटनाबाट भएको, (नेपाल सरकारले विपद् भनी घोषणा तथा परिभाषित गरिएकोभन्दा बाहेकको कारणबाट), कुनै रोगको कारणबाट महामारी फैलिएर हुन जाने मानवीय क्षति भएको खण्डमा भुक्तानी पाउने छैनन्। यी बाहेक अन्य दुर्घटना भएको खण्डमा बीमित व्यक्तिले क्षतिपूर्ति पाउनेछन्।

तपाईको प्रतिक्रिया