आठ बर्ष देखि विद्युत अलपत्र , स्थानीयको दैनिकी दियालोको भरमा

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा एक लघु जलविद्युत आयोजनाको काम आठ बर्ष देखि अलपत्र परेको छ । बारेकोट—४ जिरीमा २०६८ सालमा निर्माण थालिएको ३२ किलोवाट क्षमताको अँध्यारी खोला लघु जलविद्युत आयोजनाको निर्माण अलपत्र परेको हो । आयोजना अलपत्र परेपछि चार सय घर परिवारको बषौं देखिको बत्ति बाल्ने सपना अधुरै रहेको छ । स्थानिय मैन बत्ती, टुक्की र सल्लाको द्यालो बालेर गुजरा चलाउन बाध्य छन् ।

आर्थिक अभाव, भौगोलिक विकट्ता, उपभोक्ता समितिको चरम लापरवाही लगाएत कारण आयोजना अलपत्र परेको हो । दुई बर्षमा नै निर्माण सम्पन्न गर्नु पर्ने आयोजना अलपत्र पर्दा लम्क, जिरी, मैना, रावत जिरी, पातल जिरी, गोठगाउँ, मैना, धह लगाएत गाउँका चार सय घर परिवार अध्यारोमा बस्न बाध्य छन् ।

आयोजना समयमा नबन्दा निर्माण सामग्रीहरु अलपत्र परेका छन् । निर्माण जिम्मा लिएको उपभोक्ता समितिका पदाधिकारीको लापरवाहीले आयोजना निर्माण हुन नसकेको स्थानीयको भनाइ छ । काम अलपत्र पर्दा करोडौंको सरकारी लगानी बालुवामा पानी जस्तै भएको स्थानीय गोरखबहादुर बोहराले बताए ।

आयोजना निर्माणका लागि तीन पटक निर्माण समिति गठन भएर पनि स्थानीयले विजुली बाल्न पाएनन् । आयोजनाको ८० प्रतिशत काम पुरा भइ सकेको छ । आयोजनाको विद्युत गृह, नहर लगाएत पुर्वाधार निर्माणको काम पनि भएको छ । विजुली बाल्न प्रति घरपरिवारले दुई महिना बढी श्रमदान गरेका थिए । गाउँमा बिजुली बत्ती नहुदा वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगाएत कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

विजुली नबल्दा स्थानीयलाई टेलिभिजन हेर्न, रेडियो सुन्न, मोबाइल चार्ज गर्न तथा साना उद्योग सन्चालन गर्न, बालवालिकाहरुलाई पढ्न लेख्न धेरै समस्या भएको स्थानीय गोपाल बोहराको भनाइ छ ।

दुई बर्षमै निर्माण हुने आयोजना भौगोलिक विकट्ताका कारण समयमै निर्माण हुन सकेको उपभोक्ता समितिको भनाई छ । आयोजना निर्माणमा भौगोलिक विकटता, लागत अनुसारको रकमको अभाव भएकोले विद्युत बल्न नसकेकोे वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताईन । पर्याप्त बजेट विनियोजन नभएका कारण कुलो निर्माण हुन नसकेपछि आयोजना अलपत्र परेको अध्यक्ष बस्नेतको भनाई छ ।

आयोजना पुरा गर्न अझै ६० लाख रकम आवश्यक पर्ने उनको भनाई छ । उचित पहल गर्न नसकेको भन्दै उपभोक्ता समिति नै तीन पटक परिवर्तन भैसकेको छ ।

आठ बर्ष देखि अलपत्र परेको विद्युत सन्चालन गर्न गाउँपालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । प्रदेश सरकारसंग वजेट माग गरिएको छ, वजेट प्राप्त भए छिटै नै विजुली सन्चालनमा आउछ अध्यक्ष शाहको भनाइ छ ।

आयोजना निर्माणका लागि बैकल्पीक उर्जा प्रर्वधन केन्द्र, तत्कालिन जिल्ला विकास समिति, नायकवाडा गाविस र हालको गाउँपालिका लगाएतको दुइ करोड बढी रकम खर्च भइ सकेको छ । तत्कालिन जिविसको पाँच लाख, गाविसको तीन लाख र गाँउपालिकाको ३० लाख खर्च भैसकेको वडाध्यक्ष बस्नेतको भनाई छ ।

२०६८ सालमा हेलिकप्टरबाट आयोजनाको सामान ढुवानी गरिएपनि पावर कुलो नबन्दा आयोजना सम्पन्न हुन नसकेको हो । बैकल्पिक उर्जाले ८० प्रतिशत र अन्य स्थानिय तहबाटै ब्यहोर्ने गरि आयोजनाको सम्झौता भएको थियो । तर स्थानिय स्रोत नजुट्दा समस्या भएको हो ।

तपाईको प्रतिक्रिया