शेर्माको शव शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा राखिने

देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । बुधबार निधन भएका पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्ण कुमार शेर्मा (लिम्वू) को शव शुक्रबार कांग्रेस पार्टी कार्यलयमा राखिने भएको छ । पूर्व मन्त्री शेर्माको पार्थिव शरीर शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

शेर्मा (लिम्वू) को बुधबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय शेर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र नेपाली कांग्रेसको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय शेर्मा नेपाली कांग्रेस पाँचथरका एक अग्रज, निष्ठावान नेता एवं एक सच्चा अभिभावक थिए ।

स्वर्गीय शेर्मा वि.सं. २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भू.पू.सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए। २०४८ अषाढ १२ गते राष्ट्रिय सभाको सांसद भएका स्वर्गीय शेर्मा २०५१ कात्र्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार, २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति थिए।

वि.सं. २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कात्र्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका थिए ।

वि.सं. २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताएका स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताएका थिए । पाँचथरको साराङडाँडा—७ निगालेमा वि.सं. २००० असोज १२ गते जन्मिएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी छन्।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले भनेका छन् “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय शेर्माले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उनको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

तपाईको प्रतिक्रिया