५० प्रतिशत रेमिट्यान्स भित्रिने ६  मुलुकमा नेपाली कामदारलाई प्रतिबन्ध

-कोरोना भाइरसको विश्वव्यापी असरका कारण कतार, कुवेत, साउदी अरेबिया, बहराइन, दक्षिण कोरिया र जापानमा नेपाली कामदार जान बन्द भएको छ 

-चालू आर्थिक वर्षको चार महिनामा विदेशबाट ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा, यी ६ मुलुकबाट मात्रै ४६.३३ प्रतिशत रकम आउँछ

-कतारमा नेपालीलाई अल्पकालीन प्रवेश निषेध, कुवेतमा भिसा बन्द, साउदी अरेबिया र बहराइन जाने हवाईमार्ग बन्द छ, कोरिया जान नेपालले नै अघोषित प्रतिबन्ध लगाएको छ भने जापान पनि नजान सरकारको आग्रह

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा करिब ५० प्रतिशत रेमिट्यान्स भित्रिने प्रमुख ६ मुलुकमा वैदेशिक रोजगारी प्रतिबन्ध लागेको छ । कोरोना भाइरसको कारण देखाउँदै हालै कतार, कुवेत, बहराइन र साउदी अरेबियाले नेपाली कामदारलाई भित्र्याउन प्रतिबन्ध लगाएका छन् । दक्षिण कोरिया र जापान नजान नेपाल सरकारले नै आग्रह गर्दै आएको छ, जहाँ कामदार पठाउन अघोषित प्रतिबन्धजस्तै छ ।

कतारले आइतबारदेखि नेपाली कामदारलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाएको हो । कतारले नेपाललगायत अन्य १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले गत सातादेखि नै नेपालीलाई नयाँ भिसा दिन बन्द गरेको छ । त्यस्तै, साउदी अरेबिया र बहराइनले नेपाली कामदारले प्रयोग गर्ने हवार्ईमार्ग बन्द गरेपछि कामदारहरू विभिन्न मुलुकमा अलपत्र परेका छन् । साउदी अरब र बहराइनले कोरोनाको प्रभाव परेको संयुक्त अरब इमिरेट्सको दुबई हुँदै आउने सबै एयरलाइन्सलाई प्रवेशमा रोक लगाएका छन् । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस इटाली, इरान, कोरिया, जापान हुँदै विश्वका १ सय १५ मुलुकमा फैलिइसकेको छ ।

कतारले प्रतिबन्ध लगाउँदा ४० हजार कामदार रोकिए

कतारले लगाएको प्रतिबन्धका कारण नेपाली कामदार विभिन्न मुलुकमा रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । ‘कतार जाने ३५ देखि ४० हजार कामदारको भिसा आइसकेको छ,’ उनले भने, ‘भिसा अवधि तीन महिनाको मात्रै रहेकाले कामदारहरू जान नपाए ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।’
उनका अनुसार तीन महिनाभित्रमा जान नपाए कामदारहरू कालोसूचीमा पर्नेछन् । कालोसूचीमा परेका कामदार सम्बन्धित मुलुकमा दुई वर्षसम्म जान पाउँदैनन् । त्यसैले कालोसूचीको व्यवस्था हटाउन संघले सम्बन्धित मुलुकसँग छलफल गर्ने श्रेष्ठले जानकारी दिए । त्यस्तै, कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणलगायत भिसा प्रक्रियाको काम गर्दै आएको नेपालस्थित कतार भिसा सेन्टर दुई साताका लागि बन्द गरिएको छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार त्यहाँ तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि दोहास्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक अन्य भेटघाट नगर्न आग्रह गरेको छ । कतारमा सयभन्दा बढी मुलुकका आप्रवासी छन् ।

कुवेतले नयाँ भिसा दिन छोड्यो

कुवेतले नेपाली नागरिकलाई यात्रा प्रतिबन्ध नलगाए पनि नयाँ भिसा भने दिन बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । कोरोना भाइरसको कारण देखाउँदै कुवेतले चीन, हङकङ, इरान, इराक, इटाली, जापान, सिंगापुर, दक्षिण कोरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाए पनि नेपालीलाई भने त्यस्तो व्यवस्था गरेको छैन । तर, उसले नयाँ भिसा जारी नगरेकाले नेपालीहरू जान नपाएको महासचिव श्रेष्ठले बताए ।

बहराइन र साउदीले हवाईमार्गमा रोक लगाउँदा सयौँ कामदार अलपत्र

बहराइन र साउदी अरेबियाले दुबई ट्रान्जिट भएर जाने सबै एयरलाइन्सलाई रोक लगाएपछि सयौँ नेपाली कामदार विभिन्न मुलुकमा अलपत्र परेका छन् । मंगलबार मात्रै एयर अरेबियाबाट दुबई हुँदै बहराइन जाने कामदार त्रिभुवन विमानस्थलबाटै फर्काइए ।

त्यस्तै, सोमबार फ्लाई दुबई एयरलाइन्सबाट दुबई ट्रान्जिट हुँदै साउदी अरब जान लागेका १ सय २० कामदार त्रिभुवन विमानस्थलबाट फर्काइएका थिए । त्यस्तै, बहराइनले पनि सुरक्षाका लागि भन्दै दुबई ट्रान्जिट हुँदै जाने सबै एयरलाइन्सलाई प्रतिबन्ध गरेको छ । दुई साताअघि फ्लाई दुबईबाट दुबई ट्रान्जिट हुँदै गएका २६ कामदारलाई बहराइन विमानस्थलबाटै फर्काइएको थियो ।

नेपालबाट साउदी अरेबिया र बहराइनका लागि एयर अरेबिया, फ्लाई दुबई र हिमालयन एयरलाइन्सले उडान गर्छन् । त्यसमध्ये अधिकांश कामदार एयर अरेबिया र फ्लाई दुबईबाट साउदी (रियाद, दमाम) र बहराइन पुग्छन् । तर, यी दुवै एयरलाइन्सको ट्रान्जिट दुबई पर्ने भएकाले नेपाल प्रभावित भएको हो ।

 टिकट फिर्ता गर्दै विमान कम्पनीहरू 

नेपालीलाई प्रतिबन्ध गरिएका मुलुक उडान गर्ने एयरलाइन्स कम्पनीले टिकटको रकम फिर्ता गर्न थालेका छन् । नेपाल वायुसेवा निगमले कतार उडान अनिश्चित कालका लागि बन्द गर्दै टिकटको रकम फिर्ता गर्ने घोषणा गरेको छ । फ्लाई दुबई र एयर अरेबियाले बहराइन र साउदी अरेबिया जान नपाएका कामदारको टिकट रकम फिर्ता गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिए । त्यस्तै, कतार एयरलाइन्सले टिकटको रकम फिर्ताका साथै निःशुल्क रूपमा टिकट मिति सार्ने विकल्पसमेत उपलब्ध गरेको छ । हिमालय एयरलाइन्सले पनि कतार उडान बन्द गरेको छ ।

नेपालले नै कोरियाका लागि गर्‍यो अघोषित बन्द  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाका लागि अघोषित प्रतिबन्ध लगाएको छ । कोरियामा पनि तीव्र रूपमा कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले कोरिया जान कामदारलाई रोक लगाएको हो । मन्त्रालयले घोषित रूपमा पुष्टि भने गरेको छैन । तर, कोरिया जाने कामदारलाई उडानतालिका भने मन्त्रालयकै निर्देशनमा सारिँदै आएको इपिएस शाखा प्रमुख कृष्ण खनालले जानकारी दिए । भिसा लागिसकेर मेडिकलसमेत गराइसकेका १ सयभन्दा बढी कामदार पनि कोरिया जान पाएका छैनन् । तर, नेपाल सरकारले कामदारको तालिम मार्चपछाडि राखिदिन कोरियाली सरकारलाई अनुरोध गरेको प्रमुख खनालले बताए ।

कामदार गन्तव्य मुलुकले प्रतिबन्ध लगाएपछि रेमिट्यान्समा ठूलो धक्का 

नेपालमा कुल गार्हस्थ्य उत्पादनको २५ दशमलव ३७ प्रतिशतबराबर रेमिट्यान्स भित्रिन्छ । गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो रकम कुल गार्हस्थ्य उत्पादन ३४ खर्ब ६४ अर्बको करिब साढे २५ प्रतिशत हो ।

चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो । त्यसमध्ये कुल रेमिट्यान्सको ४६ दशमलव ३३ प्रतिशत (१ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ) रकम कतार, कुवेत, बहराइन, साउदी अरब, दक्षिण कोरिया र जापानबाट मात्र भित्रियो । यिनै मुख्य रोजगार गन्तव्य मुलुकमा घोषित तथा अघोषित प्रतिबन्ध लागेपछि मुलुकको अर्थतन्त्रमा ठूलै धक्का पर्ने देखिन्छ ।

नेपालले आठ मुलुकलाई लगायो अनअराइभल भिसामा रोक

कोरोना भाइरसका कारण नेपालले पनि आठ मुलुकको अनअराइभल भिसामा रोक लगाएको छ । अध्यागमन विभागका अनुसार चीन, इरान, दक्षिण कोरिया, जापान, इटाली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन अराइभल भिसा’मा रोक लगाइएको हो । नेपालले कोरोना भाइरसको उच्च जोखिममा रहेका मुलुकलाई अर्को सूचना जारी नभएसम्मका लागि भिसामा रोक लगाइएको हो ।

कोरोना प्रभावित युएईमा भने गइरहेका छन् कामदार 

संयुक्त अरब इमिरेट्स कोरोना भाइरसबाट प्रभावित भए पनि त्यहाँ भने नेपालीहरू अहिले पनि गइरहेको महासचिव श्रेष्ठले बताए । युएईमा हालसम्म ७४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । तर, हालसम्म कोरोनाबाट त्यहाँ मृत्यु भने भएको छैन । बहराइन र साउदीले युएईबाट उडान नै बन्द गरेका छन् । तर, नेपाली कामदार भने विनाअवरोध युएई गइरहेको श्रेष्ठले बताए ।

मुलुकमा नै रोजगारी सिर्जना गर्नुपर्छ : रामेश्वर राय यादव, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा 

प्रकृति प्रकोप हाम्रो नियन्त्रणमा छैन । सिंगो विश्व नै प्रकोपको चपेटामा परेको छ । यस्तो अवस्थामा भोलि के होला भनेर भन्न सकिँदैन । भोलिका दिनमा मलेसियाले पनि कामदार लैजान रोक्न सक्छ । त्यसैले, हामी वैदेशिक रोजगारीमा मात्रै भर परेर बस्नुहुँदैन । मुलुकभित्रै स्वरोजगार सिर्जना गर्नुपर्छ । नेपालमा नै श्रमिकको अभाव छ । नेपालका धेरै क्षेत्रमा भारतीय कामदार प्रयोग भएका छन् । त्यसैले, मुलुकमै रोजगारी सिर्जना गर्नुपर्छ ।

कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आइसक्यो  : सुजित श्रेष्ठ, महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

नेपाली कामदारको मुख्य गन्तव्य भनेको कतार, साउदी र मलेसिया हो । भोलिका दिनमा मलेसियाले पनि बन्द गर्न सक्छ । यसो भए वैदेशिक रोजगार क्षेत्रमा भयावहको अवस्था सिर्जना हुन सक्छ । नेपालमा कतार मात्रै पठाउने ६ सय म्यानपावर छन् । साउदी पठाउने ४ सय ५० म्यानपावर कम्पनी छन् । यी पनि बन्द हुने अवस्थामा छन् । मुलुकका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये आधाभन्दा बढीले मलेसिया पठाउँछन् । नयाँ पत्रिका

तपाईको प्रतिक्रिया