जाजरकोट । “समृद्ध नेपाल–सुखी नेपाली” को राष्ट्रिय अभियानलाई पुरा गर्न तीनै तहका सरकार लागि परेका छन् । गाउँ–गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई घर–घरमा पुर्याउन जनताको घर नजिकको सरकार स्थानीय तहहरु झनै बढी लागि परेका छन् ।
जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिनलाई तत्परता देखाई रहेको भेरी नगरपालिकाले यसबर्ष देखि महिनामा एक पटक गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिरहेको छ । गर्भवती आमाहरुका लागि नगरपालिकाले संचालन गरेको निशुल्क भिडियो एक्सरे कार्यक्रमको पहिलो चरणमा नाङ्गो आँखाले देख्न नसकिने गाउँका कथा, व्यथाहरु देखिएका छन् । महिलाहरुको कष्टकर जीवनशैलीलाई नगरपालिकाको निशुल्क भिडियो कार्यक्रमले देखिने बनाएको छ । २३ बर्षको उमेरमा पेटमा सातौं गर्भबोक्ने महिलाहरु पनि यसै निशुल्क भिडियो एक्सरे कार्यक्रमको पहिलो चरणमा फेलापरेको डा. भुपेन्द्र मल्लले जानकारी दिए ।
२३ बर्षको उमेरमा सातौ गर्भ बोक्ने भेरी नगरपालिका–२ कि कमला बिक हुन् । १४ बर्षको उमेरमा बिबाह गरेकी कमलाले पहिलो सन्तानलाई १६ बर्षको उमेरमा जन्म दिएकि थिईन् । घरमा तीन वटा बच्चा रहेकी कमलाका २ वटा बच्चा पेटमै खेर गएका थिए भने, एक सफा गरेर फालेकी थिईन् । सातौं गर्भजाँच तथा भिडियो एक्सरे गराउन कमला आईतबार बाहुनथान स्वास्थ्य चौकीमा पुगेकि थिईन । कमला जस्तै २१ बर्षको उमेरमा पेटमा पाँचौ गर्भबोक्ने महिला भेरी नगरपालिका–११ कट्टीगाउँकी पार्बती सुनार हुन ।
१३ बर्षको उमेरमा बिबाह गरेकी पार्बतीले १४ बर्षको उमेरमा पहिलो सन्तान जन्माएकी थिइन । पेटमै दुई वटा बच्चा खेर गएका पार्बतीको घरमा दुइृ वटा बच्चा छन् । पेटमा रहेको पाँचौ गर्भ जाँच तथा भिडियो एक्सरे गराउन पार्बती यहि फागुन २० गते जगतिपुर स्वास्थ्य चौकीमा पुगेकी थिईन । कमला र पार्बती जस्तै बालबिबाह गर्नेमा भेरी नगरपालिका–२ कि बिपना घर्ती हुन । १२ बर्षको उमेरमा बिबाह गरेकी बिपनाले १४ बर्षको उमेरमा पहिलो सन्तान जन्माएकी थिईन् । हाल २४ बर्षिय बिपना दोस्रो गर्भजाँचको लागि आईतबार बाहुनथान स्वास्थ्य चौकीमा पुगेकि थिईन् । आईतबार बाहुनथान स्वास्थ्य चौकीमा भिडियो एक्सरेद्धारा गर्भ जाँच गराएका ३० जना गर्भवती आमाहरु मध्ये २५ भन्दा बढि महिलाहरुले १२ देखि १६ बर्षको उमेरमै बिबाह गरेर १४ देखि १९ बर्षको उमेरमा पहिलो सन्तान जन्माएको फेला परेका थिए ।
उमेर नपुगेरै बालबिबाह गर्नु, परिपक्क प्रजनन् स्वास्थ्य नहुदै बच्चा जन्माउनुले महिलाहरुको पाठेघर (आङ) खस्ने, आमा र बच्चा दुबै कुपोषित हुने, मातृ तथा नवजात शिशुको मृत्यु हुने, रक्त अल्पता हुने लगाएतका विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने डा. मल्लले बताए । नेपाल सरकारले संचालन गरेको राष्ट्रिय अभियान “समृद्ध नेपाल–सुखी नेपाली” लाई साकार रुप दिन तथा समृद्ध नेपाल निर्माण गर्नलाई दक्ष जनशक्ति आबश्यक पर्ने, सुखी नेपाली बनाउनलाई स्वस्थकर नागरिक उत्पादन गर्नुपर्ने बुझाई राखेर नगर प्रमुखको निर्देशनमा गर्भवती महिलाहरुको लागि निशुल्क भिडियो एक्सरे कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ शाखामा कार्यरत रत्न घर्तीले बताए । हाल देश निर्माणका लागि चाहिएको जनशक्ति तथा मानसिक तथा बौद्धिक हिसाबले दक्ष र शारिरिक हिसाबले स्वस्थकर नागरिक उत्पादन गर्न यस कार्यक्रमको तय गरिएको घर्तीको भनाई रहेको छ ।
गर्भवती आमाहरुका लागि यहि फागुन १६ गते भुर स्वास्थ्य चौकीबाट सुरु गरिएको निशूलक भिडियो एक्सरे कार्यक्रम पहिलो चरणमा २० गते जगतिपुर स्वास्थ्य चौकी, २२ गते गङगटिया स्वास्थ्य चौकी, २५ गते बाहुथान स्वास्थ्य चौकीमा संचालन गरिएको छ भने, ३० गते कुदु स्वास्थ्य चौकीमा संचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । भुर स्वास्थ्य चौकीबाट ५१, जगतिपुर स्वस्थ्य चौकीबाट ४१, गङगटिया स्वास्थ्य चौकीबाट ५६ र बाहुनथान स्वास्थ्य चौकीबाट ३० जना गरि हालसम्म भेरी नगरपालिकाका १ सय ७८ जना गर्भवती आमाहरुले नगरपालिकाले संचालन गरेको निशुल्क भिडियो एक्सरे कार्यक्रमबाट लाभाम्बित भएका छन् ।
गर्भवती आमाहरुको लागि भेरी नगरपालिले संचालन गरेको निशुल्क भिडियो एक्सरे कार्यक्रमलाई सफल बनाउन डा. भुपेन्द्र मल्ल, नगर स्वास्थ्य शाखामा कार्यरत रत्न घर्ती लगाएकको टोलीहरु आफ्ना निजी मोटरसाईकलहरु प्रयोग गरेर नगरपालिका भित्र रहेका पाँच वटै स्वास्थ्य चौकीमा महिनामा एक पटक अनिवार्य पुग्ने गरि रहेका छन् । नगरपालिकाको सेवा प्रवाह गर्न डा.मल्ल सहितको टोलीले गरेको योगदानले दुर्गमका डेलिभेरी महिलाहरुको लागि नेपाल सरकारको राष्ट्रपति एयर (एम्बुलेन्स) लिप्ट कार्यक्रमलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निशुल्क भिडियो एक्सरे कार्यक्रमले अफ्टेरो अबस्थामा पुगेका डेलिभेरी तथा गर्भवती आमाहरुको अबस्था पहिचान हुने अपेक्षा राखिएको छ । कार्यक्रमले ै डेलिभेरी हुन नसकेर अकालम मृत्यु हुने महिलाहरुलाई बचाउन सकिने डा. मल्लको भनाई रहेको छ । भेरी नगरपालिकाले गर्भवती आमाहरुका लागि संचालन गरेको निशुल्क भिडियो एक्सरे कार्यक्रम जनमुखी कार्यक्रम भएको डा.मल्लले भनाई राखेका थिए ।
आईतवार बाहुनथान संचालन गरिएको निशुल्क भिडियो एक्सरे कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका डा. सुनिल पुन पनि सहभागी भएका थिए । गर्भवती आमाहरुका लागि नगरपालिकाले संचालन गरेको निशुल्क भिडियो एक्सरे कार्यक्रमले मातृ तथा नवजात शिशुको मृत्यु दरलाई घटाउनलाई मद्दत गर्ने डा. पुनले बताए ।
निशुल्क भिडियो एक्सरे कार्यक्रम निक्कै लोक प्रिय कार्यक्रम भएको बताउदै डा. पुनले जनमुखी कार्यक्रम संचालन गरेकोमा नगरपालिकालाई हार्दिक बधाई दिए । सार्बजनिक बिदाको दिन पनि निशुल्क भिडियो एक्सरे कार्यक्रम लिएर बाहुनथान स्वास्थ्य चौकीमा पुगेका डाक्टर सहितको टोलीले गर्भवती महिलाहरुको भिडियो एक्सरेसंगै अन्य बिरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै स्वास्थ्य परामर्श दिएको थियो ।
















































। २७ फाल्गुन २०७६, मंगलवार