आऊ प्रिय, खेलौं होली!

फाइल तस्बिर।

अच्युत शाली घिमिरे
एक आपसमा

रङ दलेर

रिसराग र द्वेषलाई

समाप्त पार्दै,

एक अर्का सँग अंकमाल गर्दै

के रातो के हरियो

के निलो के पहेंलो

सप्तरङ्गी जिन्दगीका

सद्भावहरू साट्दै

आऊ प्रिय

खेलौं होली!

कति बाच्छौ

एक्लोपनमा,

बटुलेर फोस्रो

मृगतृष्णाहरू,

कस्को पाप होला

कस्को फलिफाप होला,

कोही बेइमान होला

कोहीको नोक्सान होला,

यही नै संसारको स्वभाव हो

दर्शन र आन्नद हो

वियोग र संयोग हो

उल्झन र गडबड हो

अतित र भविष्य हो

जिन्दगी दुई दिनको चोला

आज हो कि भोलि

मनको दैलो खोली

प्रिय आऊ खेलौं होली!!

कति बस्छ्यौ

ए प्रिय

बिस्कुन सुकाएर

ढिकी चलाएर

जातो पिँधेर

डोको बोकी

घाँस काटेर

आऊ प्रेमको पुजारी भएर

खाली लोलाहरूमा

फूलको कोमलता

र सुगन्ध भरेर

श्वासहरू सुस्त झुलाएर

शीतल शीतल आँसुलाई

रङले छोपेर

अहिंसाको विशाल तत्त्व

ध्येय बनाएर

दिव्य स्पन्दनलाई

फागुको भावमा झल्काएर,

आऊ प्रिय

विश्व धारणाका नियमहरू फुकाएर

समस्त मुस्कानहरू अदरमा लुकाएर

सागरको गहिराइलाई आफूभित्र छुपाएर

संसारका बेरङ भाषाहरूमा बूँद बूँद फागु मिसाएर

आऊ प्रिय

हाँसिरहेका तिम्रा यौवन आँखाहरूमा

सप्तरंगी इन्द्रेणी फिजाएर

वैराग्य यो जीवनमा

आशाको आत्मा मिलाएर

आऊ प्रिय

खेलौं होली

प्रेमको दियो बालेर

अँधेरी संसार फालेर!!!

सेताेपाटी

तपाईको प्रतिक्रिया