
सल्यान : दिवा खाजाको व्यवस्था भएपछि शैक्षिक सत्रको बीचैमा छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ। जिल्लाका १० स्थानीय तहका सबै विद्यालयका आधारभूत तहका विद्यार्थीलाई दिवा खाजा दिन थालेपछि विद्यार्थी नियमित हुन थालेका हुन्।
दिवा खाजा सुरु भएपछि वागचौर नगरपालिका–४ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीले पूरै समय विद्यालयमा बिताउने गरेको छन्। पहिले विद्यार्थी भागेर घर जाने समस्या भए पनि अहिले भने दिनभरी रहने गरेको शिक्षक दुर्गा बोहराले बताए। उनका अनुसार विद्यार्थीले घरबाट नै फरकफरक खाजा लिएर आउने गरेका छन्।
त्यसबापत प्रतिदिन १५ रुपैया विद्यालयले अभिभावकलाई दिँदै आएको छ। आइतबार गेडागुडी, सोमबार रोटि तरकारी, मंगलबार भुटेको भुजा, बुधबार खिचडी, बिहीबार अण्डारोटी र शुक्रबार भुटेका मकै भटमासबाट बनेका परिकार खाजाको रुपमा विद्यार्थीले लिएर आउने गरेको शिक्षक बोहोराले बताए। खाजा कार्यक्रम लागु भएपछि निजी विद्यालयमा रहेका विद्यार्थीहरु आफ्नो आएको जनकल्याण माध्यमिक विद्यालय थारमारेका प्रधानध्यापक पूर्णबहादुर भण्डारीले बताए। दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका शिशुकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजाको परिकार बनाएर खुवाउने गरेको छ।
खाजाको व्यवस्था गरिएपछि विद्यार्थी उपस्थिति बढेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर वलीले वताए। विद्यालय समयमा कक्षा छोड्ने विद्यार्थीको संख्या शून्यामा झरेको उनले बताए।
दार्मा गाउँपालिका–२ का बलराम आचार्यले पहिले विद्यालय जान नमान्ने आफ्नी छोरी नियमित विद्यालय जान थालेको बताए। शारदा नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर सेजवालले विद्यालयमा खुवाइने खाजाले गर्दा विद्यार्थी नियमितता बढ्ने र कक्षा छोड्ने दर घट्दा सिकाई उपलब्धिमा सुधार आएको वताए।
दिवा खाजाको सकारात्मक पक्ष भनेको बिध्यार्थीको हाजिरी वा उपस्थितिमा पहिले भन्दा बढी भएको छ। दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले खाजा खुवाउने कार्यले साना कक्षामा विद्यार्थी नियमित भएको पाइए पनि स्थानीय तहमा एकरुपता भने नआएको बताउँछन्। जिल्लाभित्रकै स्थानीय तहमा पनि कतै विद्यालयमै पकाएर त कतै घरैबाट खाजा लिएर विद्यार्थी आउने गरेको उनले बताए।
जिल्लाका कति हजार बालबालिकाले दिवा खाजा खाइरहेका छन् भन्ने तथ्यांक भने अहिलेसम्म आउन सकेको छैन। स्थानीय तहले कति बालबालिकाले दिवा खाजा खाइरहेका छन् त्यसको तथ्यांक नपठाएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका प्रमुख लालबहादुर घर्तीले बताए।
















































। २७ फाल्गुन २०७६, मंगलवार