
काठमाडौं। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकताको सहमती भएको छ ।
शनिबार राती तीन अध्यक्ष बीच भएको सहमतीपछि एकता टुंगो लागेको हो। सहमती अनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन्।
राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठकले अध्यक्षत्रयबीचको शनिबार रातीको सहमती पछि एकता टुंगो लागेको र सहमतीपत्रमा हस्ताक्षर समेत भएको जानकारी दिए । यसअघी एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा एकीकरणको सम्भावना टरेको थियो।
शनिबार रातीको सहमती अनुसार हाल कायम रहेका तीनै वटा दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ। तर झण्डा भने थापा नेतृत्वले हाल प्रयोग गर्दै आइरहेको दलको नै राख्ने सहमती छ।
यसैगरी दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमती दुई राप्रपाबीच बनेको छ। हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ। ६ महिना भित्र विधान कमिटिले विधान प्रस्ताव गर्ने छ। सहमती अनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ।
२०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका छन् ।
राजसंस्थासहित हिन्दू राष्ट्र पुनर्स्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन्। यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।
















































। २५ फाल्गुन २०७६, आईतवार