बदलिएका मेरा बा

null

तुलसीप्रसाद दहाल

कविता
म दोधारमा छु

के म सुखद समयको साक्षी हुँ?

या उनका आँखा र अनुहारमा छुपेको

त्रासदीको मुकदर्शक?

उमेर छँदा मेरा बा

अहिलेका जस्ता थिएनन्

आमा भन्थिन्

मेरा बाले मेरो कलिलो हत्केलामा

उनको खस्रो चोर औंला कहिल्यै राखेनन् रे

मलाई उनको काखमा कहिल्यै बसाएनन्

छातीमा कहिल्यै टाँसेनन् रे

मलाई उनले मेरो कलिलो गालामा

उनको खस्रो दाह्री दलेको सम्झँनै छैन

न त सम्झँनै छ उनको ढाड

हामी चिचिलाहरूको घोडा भएको

म रुँदा न त उनले गीत गाएरै फकाए रे

न त रातिसँगै सुतेर

छानाबाट देखिने जूनतारा हेर्दै

परी र राजकुमारका कथा नै सुनाए रे

आमालाई मेरा बाले हात समाएर बजार लगेको

सँगै बसेर खाना खानु त टाढाको कुरा

के खाइस् बूढी भनेर सोधेको पनि सम्झना छैन

औंसीको रातमा इनार छेउ बसेर

डराउँदै भाँडा माँझ्ने मेरी आमालाई लाग्थ्यो रे

मेरा बा घोप्टिएको डोकाको पिंधमा बसून्

र, एउटा सुन्दर भविष्यको कुरा गरुन्

अहँ, उनले त्यस्तो केही पनि गरेनन्

तर,

मेरा ती बा आजकल किन

मेरा छोरीहरू मेरो काखमा लुट्पुटिएको

मेरो गाला चिमोटेको

म उनीहरूको घोडा भएको चाख मानी-मानी हेर्छन्?

किन उनी मेरा चिचिलाहरूसँग साथी झैं खेल्छन्?

किन उनीहरूलाई डोर्याउँदै पार्क जान्छन्?

किन वाल गीतमा थपडी बजाउँछन्?

र, उक्साउँछन् उनीहरूलाई बेपर्वाह नाच्न

किन आजकल ती कलिला कानहरूलाई

रामायणका कथा सुनाएर थाक्दैनन् उनी?

र, ती कलिला अनुहारहरूबाट टाढा हुँदा

किन बर्सिन्छन् असारको आकाशजस्तो?

पहिले-पहिले ढुंगाजस्तै कडा लाग्ने मेरा बा

आजकल किन मलाई नरिवलजस्तै लाग्छ?

भित्र-भित्रै पानीले भरिएका

अच्चम लाग्छ

आजकल मेरा बा घण्टौं किन कुर्न नपरोस्

आमासँगै खाना खान्छन्

र, सँगै कल्पिन्छन् तेस्रो पुस्ताका संसार

उमेर छँदा आफ्नै अर्धांगिनीका हात समाएर

कहिल्यै नहिँडेका मेरा बा

आजकल आमाका हात किन छोड्नै मान्दैनन्?

अलमलमा छु

के मेरा बाको मुटु प्रेमले झनै भरियो?

या पश्चिममा डुब्न लागेको सूर्य देखेर

उनको मन थर-थर काँपेको हो?

तपाईको प्रतिक्रिया