जुनीचाँदे गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र चन्द्रबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

सडक निर्माणको काममा कमिसनबापत आठ लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा बिहीबार आयोगले मुद्दा दायर गरेको हो। अध्यक्ष केसीले उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले केसीसहित प्रधानाध्यापकसमेत रहेका बस्नेतलाई आठ लाख घूसबापतको रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा केसी र बस्नेतले एक आपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण काम सम्पन्नपश्चात भुक्तानीको लागि सहजीकरण गरिदिने भनी आठ लाख घुस लिएर रकम बाँडेको स-प्रमाण पुष्टि भएकाले मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जनाएका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले केसीले र बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुने गरी र आठ लाख रुपैयाँ मागदाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया