मुसिकोट नगरका कृषकलाई पशु र बाली बिमा नि:शुल्क

५८ मध्ये ४० कार्यक्रम कार्यान्वयन भएनन्

मुसिकोट नगरपालिकाका कृषकहरूले निःशुल्क पशु र बाली बिमा गर्न पाउने भएका छन् । कृषकहरूले यसअघि कृषि र पशु बिमामा ७५ प्रतिशत अनुदान पाउँदै आएका थिए । बाँकी आफैले बेहोर्नुपथ्र्यो । तर, अब सो २५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने भएको हो । संघीय सरकारले ७५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत बिमा रकम तिरिदिने भएपछि नगरपालिकाका कृषकहरूले निःशुल्क बाली र पशु बिमाको सुविधा पाउने भएका हुन् ।

संघीय सरकारले ७५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत बिमा रकम तिरिदिने भएपछि नगरपालिकाका कृषकले निःशुल्क बाली र पशु बिमाको सुविधा पाउने भएका हुन्

कुनै रोग, किराको महामारीका कारण कृषकले लगाएको बाली र पालेका पशुपक्षीमा ठूलो क्षति पुगे पनि त्यसको क्षतिपूर्ति बिमामार्फत प्राप्त गरून् भनेर २५ प्रतिशत बिमा रकम नगरपालिकाले तिर्ने निर्णय गरेको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए । अब नगरका सबै कृषक बिमाको पहुँचमा पुग्ने उनको भनाइ छ ।

‘हाल कृषि तथा पशुपालनमा नागरिकहरूको खासै चासो छैन, यसमा लागेकाहरू पनि विभिन्न कारणले क्षति पुगेपछि घाटा खाएर पलायन भइरहेका छन्,’ उनले भने, ‘बिमा निःशुल्क भएपछि धेरै कृषकहरूले बिमा गर्नेछन् र कुनै कारणले बालीनाली तथा पशुपक्षीमा क्षति भएर घाटा भए पनि पलायन हुनुपर्ने अवस्था आउनेछैन ।’

बिमाका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरेको छ । पशुतर्फ २ र कृषितर्फ २ गरी ४ लाख बजेट बिमामा खर्च हुन लागेको नगर पशु विकास शाखाका प्रमुख यज्ञबहादुर खड्काले बताए । उनका अनुसार पशु बिमाको सेवाका लागि २ वटा गाईभैँसी र ५ वटासम्म बाख्रा पुगेको हुनुपर्नेछ । त्यस्तै, धान, मकै, गहुँलगायत विभिन्न फलफूलको बाली लगाउने कृषकले बाली बिमा पाउनेछन् ।

०६९ सालदेखि पशु र बाली बिमाको सुरुवात भएको भए पनि नगरपालिकामा बिमा गर्नेको यकिन तथ्यांक नभएको पशु विकास शाखाको भनाइ छ । अब यो कार्यक्रम आएपछि बिमितको संख्या बढ्ने अपेक्षा गरिएको छ । नगरपालिकाले बिमाका लागि आवेदन दिन आग्रह गरेको छ । नयाँ पत्रिका

तपाईको प्रतिक्रिया