सुर्खेत : कर्णाली प्रदेश सभाका सदस्यले कोराना भाइरसको प्रतिरक्षाका बारेमा प्रदेश सरकारको तयारी बारेमा जिज्ञासा राखेका छन्। कर्णाली उत्तरतिर चीनसँग जोडिएको प्रदेश भएकाले कोराना भाइरसको जोखिम रहेकोले पनि पूर्व सावधानीबारे सरकारको तयारीका बारेमा जिज्ञासा राखेका हुन्।
प्रदेश सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा तर्फबाट प्रदेशसभा सदस्य अम्मर थापाले कोरना भाइरसकाविरुद्ध प्रदेश सरकारले कस्तो तयारी गरेको छ भनेर प्रश्न राखे। कर्णाली प्रदेशमा कोरानाको संक्रमण फैलिएमा थेग्न सक्ने अवस्था नभएको भन्दै थापाले सरकारले छिटा भन्दा छिटो पूर्व सावधानी अपनाउनुपर्ने बताए।
यसैगरी प्रतिपक्ष दलका सचेतक हिमबहादुर शाहीेले सरकारले गरेको तयारीबारे सदनलाई जानकारी दिन माग गरे। सरकारले प्रदेश सभामा उठेका कुरा नसुन्ने गरेको भन्दै शाहीले जनताका माझमा दिएका प्रतिवद्धता कहाँ छन भनी सरकारलाई प्रश्न गरे। डिजिटल प्रदेश, सुरक्षा साइरन जडान गर्ने, सुरक्षा व्यवस्थाको कार्यक्रम कता गएका छन् भन्दै प्रश्न गरेका हुन्। शाहीले मुख्यमन्त्रीको एकीकृत विकास बस्ती बुलबुलेमा लुकाई राखिएको छ कि रारा तालमा लुकाइएको छ भन्दै ब्यग्य गरे।
यसैगरी शाहीले आफ्ना नजिकालाई दान दक्षिणा दिएर कर्णाली विकास नहुने भन्दै अनुदान दिएको प्रति आपत्ति जाएका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उद्योगका नाममा केही जनालाई दान दक्षिणा दिएको भन्दै विरोध गरे। उनले सरकारको स्वच्छ र पारदर्शितामा प्रश्न उठाउँदै छानबिनको लागि समिति गठन गर्ने माग गरे।
प्रदेशसभा सदस्य करबिर शाही सांसदले बजेट किन रोकियो भनेर सोध्दा मन्त्रीले माछा पालनको कुरा गरेको भन्दै आपत्ति जनाए। अघिल्लो आर्थिक वर्षमा खर्च बढाउन रकमान्तर गरेर सवारी साधन किने जस्तै चालु वर्ष पनि सोही काम गर्ने हो कि केही काम गरिने हो भन्दै प्रश्न गरे। प्रदेश सरकारका आयोजनाको शुरुवातै नगरेका कामको ठेक्काको म्याद थप गरेको भन्दै यस्तो मनोमानीले विकास विकास नहुने बताए।
बजेट बनाउने बेला के मर्का र सास्ती भएर बनाउछौं र पछि किन फेर्छौं भन्दै शाहीले मुख्यमन्त्रीले जवाफ दिन माग गरे। यसैगरी प्रदेश सभा सदस्यहरू सीता नेपाली, राजु नेपाली लगायतले वीरेन्द्रनगरमा भएका सवारी दुर्घटनाका बारेमा जिज्ञासा राख्दै दुर्घटना रोक्न सरकारले पहल गर्नु पर्नेमा जोड दिएका छन् उस्तै प्रकृतिका घटना किन घटिरहेका छन् भन्ने कुराको अध्ययन गरी उचित योजना बनाउन पनि माग गरिरहेका छन्।
बैठकमा उद्योग पर्यटन वन वातावरणमन्त्री नन्दसिंह बुढाले आफनो मन्त्रालयको विषयमा प्रदेशसभा सदस्यले उठाएका सवालको जवाफ दिएका छन्। यसैगरी बैठकमा मुख्यमन्त्रीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश लोकसेवा आयोगसम्बन्धी बनेको पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि टेबुल गरेका छन्। प्रदेश सभा सदस्यहरूले सैद्धान्तिक छलफल भएको छ।
















































। २० फाल्गुन २०७६, मंगलवार