कालिकोटको पचाल–झरना गाउँपालिकाले मोबाइल फोनबाटै विद्यालयको अनुगमन गर्न थालेको छ । विद्यालयको व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘स्कुल डायरी’ सफ्टवेयरको विकास गरिएको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाले बताए । हाल दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ । ‘सफ्टवेयर जडान गरिएका विद्यालयमा गाउँपालिका कार्यालयबाटै अनुगमन गर्न सकिन्छ,’ सेजुवाले भने, ‘सामुदायिक विद्यालयमा देखिएको विकृति र विसंगतिको अन्त्य गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न यसले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
विद्युतीय सफ्टवेयर प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने उनले बताए । ‘अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन सकेको थिएन,’ उनले भने, ‘अब प्रविधि प्रयोगले अनुगमनमा सहजता आएको छ ।’ विद्युतीय अनुगमनपछि शिक्षक समयमै र नियमित विद्यालयमा आउन थालेका अध्यक्ष सेजुवालको भनाइ छ । ‘भौगोलिक रूपमा विकट ठाउँका लागि यो प्रविधि उपयुक्त देखिएको छ,’ उनले भने, ‘यसको प्रभावकारिताका आधारमा अरू विद्यालयमा पनि थप गर्दै जाने सोचेका छौँ ।’
विकट क्षेत्रका विद्यालय अनुगमन गर्न मोबाइल सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष विक्रम तिवारीले बताए । ‘प्रविधि प्रयोगले विकट क्षेत्रबाटै शैक्षिक गुणस्तरमा सुधार ल्याउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘जहाँ बढी समस्या हुन्छ, त्यहाँ प्रविधि जरुरी पनि हुन्छ ।’
















































। १९ फाल्गुन २०७६, सोमबार