गाउँमै सेवा पाउँदा स्थानीय हर्षित

रमेश जैसी

जाजरकोट  । स्थानिय सरकार आउनु पुर्व सदरमुकाम खलंगा गएर सेवा लिँदै आएका बारेकोट बासी हाल घर नजिकैबाट सेवा लिन पाउँदा खुसी भएका छन् ।

जिल्लाको कुल भु भाग मध्य २६ प्रतिशत बारेकोट गाउँपालिकाले ओगटेको छ । सदरमुकाम खलंगा सँग प्रत्यक्ष पहुँच नभएका बारेकोटका स्थानीयवासी स्थानीय सरकारको सेवा घर नजिकै पाएपछि निकै सहज भएको बारेकोट ५ का स्थानिय लोकेन्द्र बहादुर सिंहले बताए । पहिले जिल्ला बाहिर बाट कुनै जरुरीकामको लागि पैसा प्राप्त गर्न र पठाउन सदरमुकामनै धाउनु पथ्र्याे अहिले नजिकै बैंक आएको छ । हामीलाई झन सहज भएको छ उनले भने, ।

बारेकोट गाउपालिकाले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा बढी स्वास्थ्य शाखा र पशुपन्छी विकास शाखा बाट सेवा लिनेको भीड लाग्ने गरेको बारेकोट गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंहले बताए ।  उनका अनुसार दैनिक २५ भन्दा बढी स्थानीयवासी सेवा लिन आउने गरेका छन् । पहिले स्थानीय सरकार नहुदा बारेकोटबासीलाई सदरमुकाम धाउदैमा सास्ती थियो तर अहिले त्यो समस्या हटेको छ ।
अहिले कुनै पशुचौपाय बिरामी हुदा होस वा खेतवारीमा कुनै रोग किरा लागे पनि औषधी र सल्लाह लिन आउनेको भिड लाग्ने गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिंहले बताए ।
त्यस्तै स्वास्थ्य संस्थामा उपचार लिन आउनेको भिड पनि उस्तै छ । गाउँमै सबै प्रकारका औषधि पाइने भएपछि स्थानीयवासीको विश्वास बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी ३, सामुदायिक स्वास्थ्य इकाई केन्द्र ५ र वर्थिङ सेन्टर ४ स्थानमा रहेको बारेकोटमा औषधीको कमी हुन नदिन स्थानीय सरकारले मासिक रुपमा सबै स्वास्थ्य सेवा दिने कार्यालयमै पुगेर जानकारी लिने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए ।
औषधि नपाएर अकाल्मै मृत्यु हुनबाट रोक्नका लागि स्थानीय सरकार गम्भीर भएको शाहको भनाई छ ।
्हामी हरेक दिन जनताको माझमा छौँ, स्वास्थ्य उपचार र औषधी अभावको कारण छट्पटाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी बिशेष खाल्को प्याकेज ल्याउने बताउदै गाउपालिका र सम्बन्धित शाखाहरुले दिने सेवामा कुनै अपुग भए वा कुनै गुनासो भए सिधै गाउँपालिकामा आएर जानकारी गराउन समेत अध्यक्ष शाहले जानकारी गराए ।
यतिमात्र नभई घरमै पुगेर पुर्ण अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई चेकजाँच तथा उपचार गर्ने कार्यको थालनि गाउपालिकाले गरेको छ । कुपोषण, शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुको जीवन स्तरलाई सहज वर्तमान कठिनाईको अन्त्यका लागि गाउँपालिकाले जनचेतनामुलक अभियान सञ्चालन गर्ने समेत अध्यक्ष शाहको भनाई छ ।

छाउपडी प्रथाको अन्त्य, जातिय विभेदको अन्त्य, बालविवाह तथा बहुविवाह अन्त्यका लागि हरेक आधारभूत तथा माध्यामिक विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न लागेको शाहको भनाई छ ।   शिशुमृत्यु दरलाई घटाई सुरक्षित मातृत्वलाई बढावा दिन गर्भवतीको नियमित स्वास्थ्य जाँच, करेसाबारी कार्यक्रम, घरेलु उत्पादनमा वृद्धी र सही प्रयोग गर्नका लागि गाउँपालिकाले प्रोत्साहन गरेको छ ।

आफ्नै कार्यालयबाट सेवा प्रवाह

गाउँपालिकाको शिक्षा शाखा, पशुपन्छी शाखा, स्वास्थ्य शाखाहरु गाउँपालकाको आफ्नै भवनमा सञ्चालन भई सेवा प्रवाह गरिरहेका छन । गत आर्थिक वर्षदेखि केहि वडा कार्यालयको भवन निर्माण कार्य सुचारु रहेको र केही वडामा चालु आर्थिक बर्षबाट काम भईरहेकोले आउने आर्थिक बर्षबाट सबै वडा कार्यालय निर्माण गरी जनताको काममा थप सहज बनाउने शाहले बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वधार, सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बारेकोट गाउँपालिकाले जनताको सेवा प्रवाहमा अझै चुस्त बनाउने बताइएको छ ।

कच्ची सडकले गाउपालिकाको केन्द्र सम्म छोएकोले अन्य क्षेत्रमा सडक विस्तार गर्न तिव्ररुपले सडक निर्माण कार्य अगाडि बढेको बारेकोटले आफ्नो स्रोत साधनले पुगेसम्म काम छिटो र गुणस्तरिय भइरहेको अध्यक्ष शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया