काखे बच्चा च्यापेर गिट्टी कुट्दै  महिला

जाजरकोट : यतिखेर जाजरकोट-जुम्ला सडकखण्ड अन्तर्गत खलंगा पाँचकाटिया सडकमा ग्रावेलको काम भईरहेको छ। भेरी नगरपालिका-२ बाहुनथानाकी २१ वर्षीय लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहेकी छिन्। सुत्केरी भएको दुई हप्ताभित्रै गिटी कुट्ने काममा लागेको उनले बताइन्‌।

तीन छोरा र छोरीकी आमा भईसकेकी लक्ष्मी गिट्टी कुट्ने ठाउँका कहिले काखमा बच्चा च्यापेर त कहिले चिसो भुईंमा एक महिनाको बच्चा राखेर काम गरिरहेकी हुन्छिन्‌। उनका श्रीमान् प्रेम खड्का सडक पर्खाल लगाउने गर्छन्‌। लक्ष्मी भन्छिन्‌, ‘पढ्दा-पढ्दै छोडियो, अहिले गिट्टी कुटेर छोराछोरी सहित घरपरिवार चलाउनु पर्छ, के गर्नु?’ उनीजस्तै अर्की ४० वर्षीय भीमकुमारी खड्का चार छोराछोरीको पढाईका लागि गिट्टी कुटिरहेकी छिन्‌।

‘कुनै रोजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ,’ भीमकुमारीले भनिन्‌, ‘छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाई खर्च जुटाउनकै लागि भएपनि गिट्टी कुट्ने गरेकी छु।’ दु:ख गरेर गिट्टी कुटेपनि काम लगाउने ठेकेदारले समयमा पैसा नदिने गरेको उनले बताइन्‌। शंकरभवन मावि बाहुनथानामा कक्षा २ मा पढ्ने चन्द्र घर्ती दिउँसो विद्यालय पढ्न जान्छन्‌। बिहान-बेलुकी समय निकालेर गिट्टी कुट्दै पढाई खर्च जुटाउँछन्‌।

बिहान सात बजे सडक छेउमा हतौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने चन्द्र साढे ९ बजे विद्यालय पुग्छन्‌। चन्द्रसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन पनि पढाई खर्च जुटाउन सडक किनारमा आफूभन्दा निकै बलिया ढुङ्गा फुटाउँछन्‌। दिनहुँ गिटी कुट्ने उनीहरुले एक ट्रक बनाएपछि चार हजार रुपैयाँमा बिक्री गर्ने गर्छन्‌। ‘घरमा आमाबाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौं,’ गिट्टी कुट्दै गर्दा भेटिएका स्कुले बालबालिका भन्छन्‌, ‘बिहान-बेलुकी यहीँ काम गर्ने हो, दिउँसो स्कुल गएर पढ्ने हो।’

भेरी नगरपालिका-२ भएर जाने जाजरकोट-जुम्ला सडकखण्ड वरपरका बस्तीमा जनजाती र दलित समुदायको बाहूल्यता रहेको छ। कमजोर आर्थिक स्थितिका कारण यहाँका अधिकांश बालबालिका मात्र होईन, जेष्ठ नागरिकसमेत जीवन धान्‍न गिट्टी कुटिरहेका छन्‌। ‘छोराबुहारीले राम्रो गरेनन्‌, पेट पाल्नै पर्‍यो, मर्न सकिँदैन,’ गहँभरि आँसु झाँदै भेरी नपा-२ की ६२ वर्षीया छिता परियारले भन्छिन्‌, ‘छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु।’

यी स्थानीयजस्तै अहिले जाजरकोट-खलंगादेखि पाँचकटियासम्मको सडकमा गिट्टी कुटेर जीवन निर्वाह गर्ने मानिसहरुको संख्या निकै धेरै छ। ठेकेदारले लिएपनि समयमा पैसा नदिएका कारण समस्या पर्दै आएको उनीहरु गुनासो गर्छन्‌। गिटीको रकम समयमै नपाउँदा घरखर्च चलाउन समेत उनीहरुलाई समस्या पर्ने गरेको छ। वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरु गिट्टी कुट्ने कार्यमा व्यस्त भएका छन्।

तपाईको प्रतिक्रिया