करोडौँका १२ भन्दा बढी सडक अलपत्र, किन यस्ताे निर्माणमा खेलवाड ?

                                सांकेतिक तस्वीर सडकक अलपत्र 

कालीबहादुर नेपाली जाजरकोट ।
ब्युलीढुंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुग्यो । ८० किलोमिटर सडकमा करिब २५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन ।

अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । १२ वर्षअघि काम सुरु भएको उक्त सडकमा ३० करोड रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, एक सय ४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किमिमा सीमित छ ।
२० करोड रुपैयाँ खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ । जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक मार्गको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन । बजेट अभाव र सम्बन्धित निकायको लापरबाहीले निर्माण ढिलो हुदै आएको स्थानीयको आरोप छ । सरोकार वाला निकायाको ढिलासुस्तीले गर्दा जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण समेत प्रभाबित भएको स्थानीयको आरोप छ । जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुषालले बताए ।

विगत वर्षसम्म जे जति निर्माण भए पनि बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ । रणनीतिक सडकको बजेटबारे जानकारी नभएको र कार्यालयमा बजेट पनि नआएको उनले जानकारी दिए । डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उनले जनाए । कार्यालयका अनुसार भेरी करिडोर स्तरोन्नतिका लागि २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइनका लागि एक ÷एक करोड बजेट आएको छ । भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने प्रक्रियामा छ । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो ।

संघीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिएको छ, जसले निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखांकन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन्  । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन । रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति गर्ने त परको कुरा भयो, ट्र्याक खोल्ने कार्य नै अलपत्र छ । त्यस्तै तीनवटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए ।

ट्र्याक खोल्नै करोडौं खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उनको भनाइ छ । ‘बस त परको कुरा, ट्र्याक्टर र जीपसमेत गुड्न सक्दैनन्,’ रावलले भने । पाँचकाटीया–जुम्ला सडकको कम चौडाइ, नाली तथा ग्याबिङ अभाव, अप्ठेरो रेखांकन र छोटा घुम्तीलगायत कारणले यातायात सञ्चालन हुन सकेको छैन ।

सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखांकन गाडी चढ्नै नसक्ने गरी भएको रावलको भनाइ छ । ३ किलोमिटरको उक्त खण्डमा १३ घुम्ती भएको उनी बताउँछन । ‘ती घुम्तीमा मोटरसाइकलकै मोड पुग्दैन,’ उनले भने, ‘खलंगा पाँचकाटीया सडकको राङ्सी खण्डमा रेखाकंन परिवर्तन गर्ने भनेको ९ वर्ष बितेछ । तर, सम्बन्धित निकायले टेरपुच्छर लगाएका छैनन् । उनका अनुसार करोडौं लगानी गरेको सडकको उक्त खण्डमा रेखाकंन परिवर्तन नगरे यातायात सञ्चालनको सम्भावना छैन ।

उचित रेखांकनविनै करोडौं बजेट खन्याएर सडक निर्माण अलपत्र पार्ने प्रवृत्ति देखिएको रावल बताउँछन् । जाजरकोटमा मात्र करोडौं बजेट खर्चेर निर्माण थालिएका ठूला पाँचसहित करिब पाँच दर्जन सडक अलपत्र छन् । जिल्लाभरको सडक सञ्जाल र छिमेकी जिल्ला जोड्ने उद्देश्यले ती सडक निर्माण थालिएको हो ।

यसैगरी मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्र्याक अझै पूरा खुलेको छैन । निर्माण सुरु भएको १० वर्ष बित्दा पनि सडक आयोजना र निर्माण कम्पनीको लापरबाहीले उक्त खण्डको ट्र्याक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएका लोकमार्गको रुकुम र दैलेख खण्डमा भने ३ वर्ष अघिदेखि यातायात सेवा सञ्चालन भएको छ । पछिल्लो समय लोकमार्ग स्तरोन्नति अगाडि बढेको छ ।

आयोजनाको ट्र्याक खोलिएको ८ वर्षपछि स्तरोन्नति थालिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किमि सडक पहिलो चरणमा कालोपत्र सुरु गरेको जनाएको छ । १ अर्ब रुपैयाँको लागतमा शर्मा सिंह एण्ड ब्रदर्स जेभी काठमाडौंले कालोपत्र गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताए । त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट डोल्पा सडकको जिरो प्वाइन्ट पासागाडदेखि नै स्तरोन्नति अघि बढ्न सकेको छैन ।

एक सय १८ किमि जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्र्याक मात्र खोलिएको छ । तर, सो सडकअन्तर्गत पर्ने दर्जनभन्दा बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा यातायात सञ्चालनमा समस्या भएको स्थानीय नेत्रबहादुर सिंहले बताए ।

असारमा मात्र बिकास निर्माणको काम

जिल्लाका अधिकांस बिकास निर्माणका कामहरु असार नजिकिए देखि सुरु हुने गरेका छन । सरकारी कार्यालयको लापरवाहीका कारण जिल्लाका सम्पूर्ण बिकासे कार्यालको काम असारमा हुने गरेको स्थानीयको भनाई छ ।

प्रदेश मन्त्रालयले कार्य बिधि उपलब्ध नगराएको बाहना बनाउदै जिल्लाका सरकारी कार्यालयहरुको काम असार नजिकिए पछी सुरु हुने गरेको स्थानीयको गुनासो छ । जिल्लाका बिकास निर्माणका कामहरुमा अनुगमन गर्ने निकायले ध्यान नदिएपछी बिकास निर्माणको नाममा बिकृती फैलिदै गएको स्थानीयको आरोप छ ।

बिकास निर्माणको नाममा करौडौं बजेट जिल्लामा आएपनी कार्यालयले अन्तिममा बिल मिलाउन हम्मे हुने गरेको जानकारहरु बताउँछन् । बिकास निर्माण गर्ने बिकासे अड्डाहरु अहिले सुनसान छन । दास्रो चौमासिक वित्न लागेको भएपनि कार्यालयको काम निरासजनक छ ।  भेरीमालिका दैनिक बाट साभार गरिएकाे 

तपाईको प्रतिक्रिया