भरतको गोलमा आर्मी शीर्ष स्थानमा

काठमाडौं । कप्तान भरत खवासको गोलमा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मीले लिगमा अग्रता लिएको छ ।

आर्मीको जितमा भरत खवासले ७४ औ मिनेटमा निर्णायक गोल गरे । उनले डिबक्सभित्र दुई डिफेन्डरलाई छलाउँदै भलीमा गोल गरेका थिए ।

खेल अवधिभर आर्मीले जावलाखेलमाथि दबाब बनाएपनि गोल निकाल्न भने सकेन । आर्मीमा भरतसंगै नवयुग श्रेष्ठले समेत गोलका धेरै अवसर गुमाएका थिए ।

खेलको १० औं मिनेटमा टंक बस्नेतको पासमा डिबक्सभित्र रहेका नवयुगले बल नियन्त्रण गर्न नसक्दा अग्रता लिने मौका गुमेको थियो ।

भरतको पासमा ४१ औं मिनेटमा भरतको पासलमा नवयुगको प्रहार जावलाखलका गोलरक्षक अरुण बलोनले पन्च गरेर बाहिर फालेका थिए ।

दोस्रो हाफमा जावलाखेलले सुधारिएको खेल प्रर्दशन गर्यो । उसका रुपबहादुर लामाले डिबक्स बाहिरबाट हानेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट डाइभ गर्दै पन्च गरेर बाहिर फाले ।

विजयी गोल गरेका भरत केल्मी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

जितसंगै आर्मीले ९ खेलबाट २० अंक जोडेको छ । उसले दोस्रो स्थानको मछिन्द्रसंग एक अंकको अग्रता लिएको छ । जावलाखेल १२ अंक सहित लिगको आठौं स्थानमा यथावत छ ।

प्रशिक्षकले के भने ?

आर्मीका प्रशिक्षक नविन न्यौपानेले जावलाखेलविरुद्ध तीन अंक लिन सफल भएको बताए ।

‘लक्ष्य यही थियो । पाँच पाईला थियो, एक पुरा भएको छ । अब चार बाँकी छ ।’ उनले भने ।

उनले खेलाडीले दबाब लिएर खेलेको देखिएको उल्लेख गर्दै मिडफिल्डले बल सप्लाई नगर्दा गोलका लागि संघर्ष गर्नुपरेको बताए ।

‘खासै मुभ बनाउन सकेनौ । भरतको नसोचेको गोलमा तीन अंक आएको छ । कडा मेहनतले जित हसिल भयो ।’ उनले थपे ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले रक्षात्मक खेल्दै आक्रमण गर्ने रणनीति सफल नभएको बताए ।

‘रणनीति ठिकै भएको थियो । तर गोल खायौ ।’ उनले भने, ‘प्रर्दशन राम्रो भयो । एक अंक लिने लक्ष्य थियो । शीर्ष ६ कालागि अझै खेल्नेछौ ।’

तपाईको प्रतिक्रिया