वन अनुगमनमा गएका कर्मचारीमाथि विप्लवका कार्यकर्ताबाट हातपात

मुगु : छायानाथ रारा नगरपालिका-१४ बाम गाउँमा वनको अनुगमनमा गएका डिभिजन वन कार्यालय मुगुका कर्मचारीमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले हातपात गरेका छन्।

बुधबार दिउँसो बाम गाउँमा डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरूले गाँउलेलाई भेला गरी वन संरक्षण र यसका फाइदाका बारे सचेतना दिइरहेका बेला आफ्नो अनुमति नलिई कार्यक्रम गरेको भन्दै विप्लवका कार्यकर्ताले वनका कर्मचारीमाथि हातपात गरेका हुन्। गाउँका २ वटा सामुदायिक वन चंखेली सामुदायिक वन र मिन डाँडा सामुदायिक वन फडानी गरी उजाड बनाउँदैछन् भन्ने समाचार माघ १२ गते समाचार प्रकाशित भएपछि त्यसबारे बुझ्न गाउँ गएका वनका अधिकृत, रेन्जर र वन रक्षकसहितको ६ जनाको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले हातपात गरेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ।

फडानी भएका वनको स्थलगत निरीक्षण गर्न र गाँउलेलाई सचेतना दिन डिभिजन वन कार्यालय मुगुबाट गएका वन रक्षक राजाराम रावल, दीपेश कुमार मल्ल, वन अधिकृतहरू तिलबहादुर शाही, प्रवीण देवकोटा, दिनेश रामदाम र रेन्जर सागर बस्यालमाथि हातपात भएको थियो।

दिउँसो १२ बजेतिर गाउँलेलाई भेला गराएर वन फडानी नगर्न, फडानी गरे कानुनी सजाय, वन जोगाए हामीलाई हुने फाइदा र वन मासिँदै गए हुने असरबारे जानकारी गराउँदै गर्दा नेकपा छायानाथ रारा नगरपालिका नगर कमिटी संयोजक धनमानसिंग बुढुवालले अनुमतिविना गाउँमा किन कार्यक्रम गरेको भन्दै हातपात गरेका हुन्। उनले यो हाम्रो इलाका हो हाम्रो अनुमतिविना केही पनि गर्न पाइदैन भन्दै जिल्लाबाट लिएका कागजात, निर्णय, रजिस्टर च्यातेको र कार्यक्रममा उपस्थित कर्मचारीलाई हातपात गरेको कर्मचारीले बताए।

कर्मचारीमाथि हातपात सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट घटनास्थल प्रहरीको एक टोली पुगेको थियो। प्रहरी आएको थाहा पाएपछि विप्लवका कार्यकर्ता गाउँ छोडी भागेका थिए। दिउँसो ४ बजे घटना स्थलमा पुगेको प्रहरीले कर्मचारीलाई सुरक्षा दिँदै सदरमुकाम फर्किएको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दूरीमा रहेको छ।

तपाईको प्रतिक्रिया