राजनीति प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भने- ‘सरकारविरुद्ध एकतर्फी खतरनाक प्रचारयुद्ध भयो’

 

काठमाडौं : प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध खतरनाक प्रचारयुद्ध भइरहेको अभिव्यक्ति दिएका छन्। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा शूरु भएको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युद्ध दुईतर्फी हुने गरेपनि अहिले सरकारविरुद्ध एकतर्फी प्रचारयुद्ध छेडिएको दावी गरेका हुन्। ‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ, प्रचार युद्ध मात्र होइन, आक्रमण छेडिएको छ, प्रधानमन्त्री ओलीले भनेका छन्, यो युद्ध हैन, युद्ध त दुईतिर बाटै हुन्छ, डरलाग्दो तरिकाले आक्रमण छेडिएको छ।’

केही व्यक्ति र समूहले यस्तो काम गरिरहेको ओलीले ओलीले दावी गरे। संविधान जारी भएपश्चात संसदीय निर्वाचनबाट बनेको सरकारले दुई बर्षमा असाधारण काम गरेको दावी गर्दै ओलीले सबैभन्दा धेरै उपलब्धी संविधान कार्यान्वयनमा भएको उल्लेख गरे। ‘कतिपय अवस्थामा सरकारका कमी कमजोरी भएका पनि हुनसक्छन्, अपेक्षा अनुसार पूरा नभएको हुनसक्छ,’ प्रधानमन्त्रीले भने, ‘तर हामी काम नगरी बसेका वा उपलब्धी हासिल नगरी बसेका वा पछाडि परेका होइनौं।’ सरकारले वादविवादबाट नभई कामबाट नतिजा दिने गरेको प्रधानमन्त्रीको दावी थियो।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रमाणसहित भारतलाई पत्राचार गरिएको बताए । प्रधानमन्त्री समेत रहेका ओलीले सीमा समस्या समाधानका लागि सरकारले आफ्नोतर्फबाट पहल र प्रयास जारी राखेको बताएका हुन् । उनले वर्तमान सरकारले राष्ट्रियताका बारेमा कसैसँग सम्झौता नगर्ने भन्दै सम्वादका माध्यमबाट सीमा समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । उनले सीमा सुरक्षाका लागि विभिन्न स्थानमा २ हजार ३५ नयाँ सीमा स्तम्भ थपिएको र एक हजार सीमा स्म्तम्भ मर्मत गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले चीनतर्फका सीमा नाका सञ्चालनमा पनि सहमति भएको बताए । उनले आफ्नो नेतृत्वको सरकार राष्ट्रवादी र सत्यवादी भएको दावी पनि गरे ।

एमसीसीका सर्तहरुका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा लगानी हुने र लोकतान्त्रिक मुलुक हुनुपर्ने व्यवस्था अनुसार नेपालले स्वीकार गरेको बताए । ‘सन् २०१२ मा एमसीसी अन्तर्गत अमेरिकी डलर ५ सय मिलियनसम्मका छनोट गरेको हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उनले २०७४ भाद्र २९ मा तत्कालीन नेपाल सरकारका अर्थमन्त्रीले हस्ताक्षर गरेका बताउँदै त्यसैअनुसार ५ सय मिलियन अमेरिकी डलर अमेरिकाले प्रदान गर्ने भन्दै यो सहयोग कुनैपनि सैन्य संगठनमा नजोडिने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दाबी समेत गरे। सोही क्रममा उनले एमसीसी अन्तरगत सडक र विद्युतमा खर्च गर्नुपर्ने भन्दै यो यसअघि नै पास गर्नुपर्ने भएपनि अझै हुन नसकेको बताए । ‘जसले गर्दा अहिले विवाद भइरहेको छ,’ उनले सम्झौताको बुँदा वाचन गर्दै यसमा स्पष्ट हुन र विवाद नगर्न आग्रह पनि गरे ।

आज (बुधबार) देखि शूरु भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अहिले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् भने महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्। बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४४७ सदस्य सहभागी हुने नेकपाले जानकारी दिएको छ। केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी राष्ट्रिय सभा गृह, धुम्बाराही र पेरिसडाँडामा बिषयगत छलफल गर्नेछन्। नेकपाले केन्द्रीय कमिटी बैठक गर्न पाँच दिनका लागि राष्ट्रिय सभा गृहको हल भाडामा लिएको छ।

तपाईको प्रतिक्रिया