प्रहरी भ्यानलाई बसको ठक्कर, इन्स्पेक्टरसहित छजना घाइते

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडामा बसले प्रहरी भ्यानलाई ठक्कर दिंदा प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित छजना घाइते भएका छन्। काँकडभिट्टाबाट धनगढी जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले मंगलबार राति गस्तीमा रहेको ना १ झ १४१७ नम्बरको प्रहरी भ्यानलाई ठक्कर दिंदा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहित छजना घाइते भएका हुन्।

हेटौंडा उपमहानगरपालिका–११ राप्तीपुल नजिक भएको दुर्घटनामा प्रहरी निरीक्षक भण्डारीसहित चार प्रहरी र बसमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए। प्रहरी निरीक्षक भण्डारीसहित तीन घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने घाइते प्रहरीहरु उपचारपछि डिस्चार्ज भएका छन्। बस र चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया