दर्शकलाई पनि थाहा हुन्छ – अब गोल हुँदैछ !

काठमाडौं । मंगलबार चालु लिगकै सर्वाधिक गोल निस्कियो । एन्फाको आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणका खेल चलिरहेका छन् ।

सोही अनुसार मंगलबार दुई खेल भए ।

पहिलो खेलमा रेलिगेशन जोनमा रहेको सरस्वती र अन्तिमबाट तेस्रो स्थानमा रहेको हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भयो ।

पहिलो जित निकाल्ने क्रममा सरस्वतीे ४–३ गोल अन्तरले विजयी भयो । सो खेल लिगकै सर्वाधिक गोल भएको खेल हो । यसअघि ८ खेलमा दुई गोल गरेको सरस्वतीले एकै खेलमा ४ गोल गर्याे । रेलिगेशन जोनमा रहेको सरस्वतीका लागि खेल निकैनै महत्वपूर्ण थियो ।

अन्तिम ४ खेलमात्रै बाँकी रहेको अवस्थामा सरस्वतीलाई अन्तिम एउटा अवसर समेत थियो । खेल सोही अनुरुप अगाडी पनि बढ्यो । तर खेलमा जसरी गोल भए, ती सबै शंकास्पद देखिन्थे ।

यसअघि लिगमा ८ खेल खेल्दा २ गोल गरेको सरस्वतीले शेर्पाविरुद्व ४ गोल गर्नुलाई शंकास्पद रुपमा हेरिएको छ ।

लिगकै बलियो टिम मछिन्द्रलाई पराजित गरेको शेर्पाले ४ गोल खानुलाई पनि मैदानमा उपस्थित दर्शकले पचाउन सकेनन् ।

यस खेललाई मैदान बाहिर हुने मिलेमतो (फिक्सिङ) को रुपमा हेरिएको छ । लिगका केही खेलमा खेलाडी खेलाडीबीचको (बेट) राखिएको शंका गरिएको छ । सोही अनुसार सो खेलमा ७ गोल निस्किएको आशंका छ ।

खेलमा सरस्वतीले तेस्रो गोल गरेसँगै प्यारापिटमा उपस्थित दर्शकले खेल फिक्सिङको गन्ध पाउन थालिसकेका थिए । उनीहरु भन्दै थिए, सर्वाधिक गोल गर्ने खेल यही हो ।

उनीहरु सहज दाबी थियो, यो बल गोल हुन्छ ।

दर्शकदिर्घामा रहेका दर्शकले खेलको अन्तिम गोलसम्म भन्न भ्याए ।

तर, खेल सकिए लगत्तै दुबै टिमका प्रशिक्षकले खेल मिलेमतोको आशंका अस्विकार गरे ।

प्राय समय टिम र खेलाडीको बचाउमै रहने सरस्वती युथ क्लबका प्रशिक्षक प्रदिप नेपालले जित्नै पर्ने खेल भएकाले धेरै गोल निस्किएको बताए ।

‘रेलिगेशन जोनमा हुँदा टिम धेरै दबाबमा थियो । जसका कारण धेरै गोल भएका हुन् । प्राय गोल फ्रिकिक र कर्नरबाट भए । किपरको गल्तीले पनि गोल भयो । आउट अफ ग्राउण्ड भएको छैन । खेल फेयरनै छ ।’ पहिलो जित पाएका नेपालले भने ।

यता, शेर्पाका मुख्य प्रशिक्षक संजिब बुढाथोकी पनि मिलेमतोको कुरामा सहमत छैनन् । ‘खेलाडीले मार्किङ नगर्दा गोल निस्किएको हो । झन रेलिगेसनको डर छ । मिलेमतो भएको छैन । खेलाडीले ब्यक्तिगत गरेका छन् भने थाहा भएन । उनी भन्छन् ।

लिग निर्देशक संजिब मिश्र भने खेलाडीको गोल गरेको तरिका र हाउभाउ हेर्दा केही शंकास्पद देखिएको बताए ।

‘खेलाडीको गोल गरेको तरिका र हाउभाउले केही शंका देखिएको छ । त्यसको इन्टिग्रिटी अफिसरले अनुसन्धान गर्नेछन् ।’ उनी भन्छन्, ‘खेलमा त्यस्तो सिधै देखिएको त छैन । तर पनि आएको कुरालाई हामी भिडियो फुटेजको आधारमा हेर्छाै र त्यसको अनुसन्धान गर्छाै । पुष्टि भएमा कारबाही हुन्छ ।’

इन्टिग्रिटी अफिसर सुदिप आचार्य घटनाको जानकारी लिन खोज्दा मिडियाबाट टाढै रहन चाहे । उनी खेल सकिएपछि एन्फा परिसर छिरेका थिए ।

कसरी भए ७ गोल ?

खेल सुरु भएको पाँच मिनेटमै सरस्वतीले अग्रता बनायो । मैदानको दायाँ भागबाट पुर्णबहादुर श्रेष्ठले क्रस गरेको बललाई विदेशी खेलाडी कजिम बुसारीले सहजै हेडमार्फत गोल गरे ।

उचाईका कारण शेर्पाका गोलरक्षक किशोर गिरीले कुनै मुभनै लिन भ्याएनन् ।

पहिलो गोल गरेको ५ मिनेट बित्न नपाउँदै शेर्पाले खेल बराबरीमा ल्यायो । रवि थापा मगरले प्रहार गरेको फ्रिकिकमा अन्मार्क रहेका डिफेन्डर आशिष गुरुङले सहजै हेडिङ गोल गरे ।

खेलको तेस्रो अर्थात सरस्वतीको दोस्रो गोल पहिलो हाफको ३५ औं मिनेटमा भयो ।

यो पटक मैदानको दाया भागबाट विदेशी खेलाडी बुसारीले गोलरक्षक गिरीलाई बिट गरि क्रस गरेका बललाई गोललाईन नजिकै अन्मार्क रहेका विनोद केसीले सहजै गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा शेर्पाका बिजय श्रेष्ठले २–२ को बराबरी गरे । गोल लाईन नजिकै रहेका शेर्पाका बिजय गुरुङको राईट फुटे सटले सिधै जालि चुम्यो ।

जुन गोल भएको छ, त्यो बल शेर्पाका डिफेन्डर स्टेफन सामिरले सरस्वतीको टर्च लाईनबाट रिलिज गरेपछि सरस्वतीका खेलाडीको खुट्टैमा बल पर्दैन ।
डिबक्सभित्र रहेका खामिर गिल्सान कंन्दङ्वासम्म पुग्छ । उनको प्रहार सटिक रहँदैन र अन्मार्क रहेका बिजयले सहजै गोल गर्छन् ।

खेलको पहिलो हाफ २–२ गोल अन्तरले समाप्त भयो ।

दोस्रो हाफमा दुबै तर्फबाट थप ३ गोल हुन्छ ।

खेलको ८४ मिनेटमा सरस्वतीले ३–२ को अग्रता बनायो । उसका कजिमले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्ने क्रममा बैकल्पिक खेलाडी चोप बहादुर रुचालको कर्नरलाई सदुपयोग गरे ।

यो गोलको छुट्टै कथा छ । कजिम बुसारीले क्रस गर्ने क्रममा शेर्पाका डिफेन्डर आशिष गुरुङले बल आफ्नै कर्नर साइडमा फ्याल्छन् । यसपछि कर्नरमा बुसारी हेडिङ गर्न अगाडी बढ्छन् र गोलरक्षक गिरीले कुनै पनि रियाक्सन नदेखाउँदा गोल सहजै हुन्छ ।

खेलको छैठौ तथा सरस्वतीको अन्तिम गोल यू–१९ टिमका मनिष थापाले गर्छन । उनले करिब ४५ यार्डमा बल आफ्नो नियन्त्रणमा लिन्छन् र सहकर्मी साथी तिर्थ बहादुर बस्नेतलाई बल दिन्छन् । लगत्तै तिर्थले डिबक्स बाहिरै मनिषलाई बल दिन्छन् । डिबक्स बाहिर प्राप्त बललाई मनिषले शेर्पाका ३ डिफेन्डर र गोलरक्षक गिरीलाई बिट गर्दै डिबक्स भित्रबाट सहज गोल गर्छन् ।

र खेलको अन्तिम कहानी थपिएको ५ मिनेटमा हुन्छ ।

शेर्पाका रवि थापा मगरले फ्रिकिक मार्फत सहजै गोल गर्छन् । यहाँ सरस्वतीका गोलरक्षक बिष्णु कुमार केसीले डाईफ हानेपनि बललाई रोक्न सक्दैनन् ।

यसअघिका आठ खेलमा सरस्वतीले प्रदिप भण्डारीलाई पोष्ट समाल्ने जिम्मेवारी दिएको थियो । तर नवौ खेलमा भने एकैपटक बिष्णु कुमार केसीले पोष्टको जिम्बेबारी लिएका थिए

तपाईको प्रतिक्रिया